सतिसकुमार राजवंशी

कटहरी । कटहरी गाउँपालिकाको प्रशासनिक भवनमा सोमबार एक हुल मानिसले घेराबन्दी गरे । घेराबन्दी गर्नेमा थिए सोही पालिकाको वडा नं ४ का किसान ।

समयमा पाउनु पर्ने मल नपाएपछि आक्रोशित भएका किसानले गाउँपालिका कार्यालयमा नै आएर घेराउ गर्नुपर्ने बाध्यता सुनाए ।

‘खेतमा जानुपर्ने समयमा पालिकाको कार्यालय आउनु परेको छ’ सबै किसान एकै स्वरमा बोले । ‘गहुँ, मकै रोप्ने बेला भइसक्यो । ढिला नै भइसक्यो तर पालिकाले केही गरेको छैन’ किसान गुनासो कायम रह्यो, ‘बाध्य भएर यहाँ आयौँ, खेतमा कति धेरै काम छ ।’

गाउँपालिकाले केही दिनअघि प्रत्येक किसानलाई २५ किलोका दरले मल उपलब्ध गराउने बताएको थियो । अपुग हुने भए पनि पालिकाले दिने मल लिन किसान पटकपटक कार्यालय धाए । केहीले मल प्राप्त गरे । तर बाँकी रहेका किसानले न त मल पाए न त मलसम्बन्धी चित्त बुझ्दो जवाफ ।

कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभरिका नौ कृषि सहकारी संस्थामार्फत किसानलाई मल वितरण गरिरहेको छ । सो अन्तर्गत पहिलो चरणमा आएको तीन सय १५ बोरा युरिया र एक सय २२ बोरा डिएपी मल नयाँ बजार कृषि सहकारी संस्थाले किसानलाई वितरण गरिसकेको छ ।

तर पहिलो चरणअन्तर्गत नै आएको तीन सय १८ बोरा युरिया र एक सय २३ बोरा डिएपी मुस्कान कृषि सहकारी संस्थाले किसानलाई वितरण गर्न ढिलाइ गरिरहेको छ ।

‘एक विघा खेतीमा २५ किलो मल भनेको हात्तीको मुखमा जिरा जस्तै हो’ मल लिन आएका जयनुदिन शेखले, ‘खेतमा काम गर्न जाने कि मल देउ भन्दै पालिका आउने ? यस्तो हुँदा हामीलाई मर्नु न बाँच्नु जस्तै हुन्छ ।’ उनलाई एक बिघा खेतिमा १ बोरा डिएपी लाग्छ तर वडाबाट उनलाई २५ केजी मात्र उपलब्ध भएको छ । मल अभावका कारण खेतमा पर्याप्त उत्पादन नहुने समस्या उनले भोग्दै आइरहेका छन् । त्यसमाथि जनप्रतिनिधिको व्यवहारलाई झनै दुःखी बनाएको छ । ‘आएको मल कहाँ गयो । वडाअध्यक्षले कसलाई वितरण गर्नु भयो ? केही अत्तोपत्तो छैन’ दुःखी हुँदै उनले भने, ‘गाउँपालिका अध्यक्षले हाम्रो माग पूरा गर्नु त परको कुरा ! हामीलाई भेट्नै खोज्नुहुन्न । त्यसैले आज कार्यालय घेराउ गर्न बाध्य भएका हौँ ।’

उनीसँगै रहेका अर्का स्थानीय पप्पु राजवंशी समस्या समाधान गरिदिने कोही नभएपछि किसानक आक्रोशित भएका बताउँछन् । ‘समस्या सुनाउन आउँदा गाउँपालिकाका अभिभावक नै कार्यकक्षमा छैनन्’ राजवंशीले भने, ‘मलाई केही थाहा छैन भन्दै तर्किन खोज्छन । आज कामले बाहिर छु, कार्यालय आउन सक्दिन भन्दै छन् ।’

निर्वाचनका कारण सीमानाका बन्द भएपछि मल ल्याउन नपाएपछि किसान दोहोरो मारमा परेको निजामुदिन शेखले बताए । ‘वडाले २५ किलो मात्र लान पाउँछ भन्छ, त्यसले ५ कट्ठा मात्र पुग्छ । अनि बाँकि खेतलाई बाँझो राख्ने ?’ प्रश्न गर्दै उनले थपे, ‘अरुले बेला पनि यस्तै हो । यहाँ नपाएपछि भारत गएर ल्याउँथे । यसपटक चुनावले त्यो पनि सम्भव भएन । हामीलाई ज्यादै अप्ठेरो पर्याे ।’

किसानकाे दाेष देखाउँछन् पालिका अध्यक्ष

कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी आफ्नो बचाउ गर्दै किसानलाई दोषी देखाउँछन् । ‘वहाँहरुको खेत जहदा र कटहरी दुवै पालिकामा पर्छ । त्यसले समस्या उत्पन्न भएको हो’ अध्यक्ष चौधरीले भने, ‘यहाँ पाउनु भएको मल वहाँहरुले जहदामा भएको खेतमा लगाउनु हुन्छ अनि फेरी मलका लागि आउनुहुन्छ । त्यसले गर्दा व्यवस्थापन गर्न गाह्रो भएको छ ।’ सबै वडालाई मत वितरण गर्नका लागि पठाइसकिएको बताउदैँ उनले किसानलाई मलको समस्या भए वडामार्फत आउन अनुरोध गरे ।

‘मल अभाव भए वडाबाट चिठ्ठि लिएर आउनु पर्याे नि वहाँहरुले, कार्यालयमा होहल्ला गरेर हुन्छ ?’ अध्यक्ष चौधरीले भने, ‘अभाव भएको हो रहेछ भने हामी सक्ने व्यवस्थापन गर्न लाग्छौँ ।’

गाउँपालिकाले समन्वय गर्ने बताइरहे पनि किसान हरेक वर्ष मल अभावको समस्या दोहोरिने बताउँछन् । समस्या सुनाउन आउँदा जनप्रतिनिधिहरुले देखाउने रवैयाबाट उनीहरु आजित छन् । किसानले समयमै मल पाउन सके उत्पादनमा वृद्धि हुनेमा दुई मत छैन तर वर्षेनी दोहोरिने मल अभावले किसानसँगै नेपालको समग्र अर्थतन्त्रलाई नै समस्यामा पारिहरहेको छ ।

(प्रशिक्षार्थी)

686
Shares
२९ कार्तिक २०७९, मंगलवार १५:२०