२८ करोडको स्वास्थ्य सामग्री खरिदका लागि टेण्डर आह्वान गर्दा तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत विवादमा तानिए । समयमै स्वास्थ्य सामग्री खरिद हुन नसक्दा खरिद प्रक्रिया अन्योलमा पर्यो ।
मुलुक कोरोनाले आक्रान्त भइरहेका बेला स्वास्थ्य सामग्री खरिद सम्बन्धी विवादमा मुछिएका उनै भानुभक्त आगामी निर्वाचनका लागि मोरङको निर्वान क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । तेह्रथुम घर भएका ढकालले २०७४ सालको निर्वाचन पनि यही क्षेत्रबाट जितेका थिए । स्थानीय हुँ भन्ने देखाउन अहिले खोर्सानेमा घर पनि बनाएका छन् ।अघिल्लो निर्वाचनमा ‘टुरिष्ट’ उम्मेदवारको आरोप खेपेका उनले नेपाली कांग्रेसका सुनील शर्मालाई पराजित गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेका थिए । उनले ४२ हजार ४ सय १३ मत ल्याउँदा सुनीलले ४० हजार ५ सय ६ मत पाए । १ हजार ९ सय ७ मतान्तरले भानुभक्त विजयी बने ।
आगामी निर्वाचनका लागि पनि भानुभक्त र सुनील चुनावी प्रतिस्पर्धामा छन् । तर विपक्षीहरु स्वास्थ्य सामग्री खरिद सम्बन्धी विवादलाई भानुभक्तविरुद्ध चुनावको मुख्य मुद्दा बनाएर अघि बढिरहेका छन् ।यही मुद्दालाई प्राथमिकताका साथ विपक्षीले उठाइदिएपछि यो क्षेत्रमा भानुभक्तलाई चुनाव जित्न गाह्रो पर्ने विश्लेषण गरिएको छ । नेतृत्वमा रहेका व्यक्तिहरूलाई निर्वाचनको समयमा विभिन्न आरोप लाग्नु सामान्य हो । तर अनियमिततामै जोडिएको भन्दै विपक्षीले भानुभक्तविरुद्ध प्रचार गरिरहँदा उनी अप्ठेरोमा परेका छन् ।
विवादमा मुछिएका उनलाई टिकट दिएको भनेर एमालेभित्रै पनि असुन्तष्टि बढेको स्थानीय बताउँछन् । हुन त ढकालले आफ्नो चुनाव प्रचारलाई तीव्र पारेका छन् । घरदैलो, मतदाता भेटघाट, कोणसभा गरिरहेका छन् ।
भानुभक्त र सुनीलबीचको प्रतिस्पर्धामा नेपाली चलचित्र जगतकी चर्चित नायिक रेखा थापाको प्रवेशले निर्वाचनको माहोल गर्माएको छ । कम्युनिष्टको बर्चश्व रहेको यो क्षेत्रमा चुनावी चर्चा चाखलाग्दो भएको छ । त्रिपक्षीय भीडन्त हुने आकलन गरिएको छ । रेखाको खटाइ र मिहिनेतले पनि उनी कमजोर प्रतिस्पर्धी हैनन् भन्ने पुष्टि गर्छ ।
गत स्थानीय तहको निर्वाचनमा प्राप्त भएको मतका आधारमा भने सत्तारुढ गठबन्धन बलियो देखिन्छ । एमालेका भानुभक्तले यही क्षेत्रबाट पुनः चुनाव जित्ने बताइरहँदा कांग्रेसका सुनीलले आफू ६० हजार मत ल्याएर चुनाव जित्ने दाबी गरिरहेका छन् । राप्रपा उम्मेदवार रेखा भने मतदाताले परिवर्तन चाहेका कारण आफू जित्ने जिकिर गर्छिन् ।
यो क्षेत्रमा २०४८ सालदेखि बामपन्थी उम्मेदवारले जित्दै आएका थिए । बेग्लाबेग्लै विशेषता र भिन्न क्षेत्रका उम्मेदवारका कारण यस क्षेत्रमा चुनावी चहलपहल बढेको छ । भानुभक्तसँग पराजित भएदेखि नै सुनील आफ्नो निर्वाचन क्षेत्र केन्द्रित बने ।
आफ्नो क्षेत्रमा निरन्तर सम्पर्क र सेवामा खटिएर राजनीतिक पकड बनाए । तर भानुभक्त र सुनीलबीचको प्रतिस्पर्धामा रेखाको उपस्थितिसँगै मतदाता उत्साहित बनेका छन् । तीनैजना उम्मेदवारका तीनथरि चुनावी रणनीति र प्रचार शैलीले चुनावी माहोल रोचक बनेको छ ।
रेखा आफूलाई सधैँ चलचित्रमा देखिरहेका मतदाताभन्दा योजनाबद्ध रुपमा ग्रामीण क्षेत्र, सुकुम्बासी, दलित, विपन्न बस्ती, महिला, युवायुवतीलाई प्राथमिकतामा राखेर चुनावी प्रचार गरिरहेकी छन् । रेखाको लोकप्रियता र प्रचार शैलीले राजनीतिका चतुर खेलाडी एमालेका भानुभक्त र समाजसेवा, सुलभ स्वास्थ्योपचारका कारण बेग्लै छवि बनाएका सुनीललाई पहिलेजस्तो सहज देखिँदैन ।
यसअघि माओवादीको साथ पाएका भानुभक्तको आफ्नै पार्टी एमालेसमेत विभाजन भएर नेकपा (एकीकृत समाजवादी) बनेको छ । माओवादी र समाजवादीले कांग्रेस गठबन्धनलाई साथ दिएकाले यसपटक सुनील बलियो उम्मेदवारका रूपमा देखिएका छन् ।
सुनील विराटनगरको नोबेल र काठमाडौं शिक्षण अस्पतालका सञ्चालक हुन् । आफ्नो शिक्षण अस्पतालमा सुलभ स्वास्थ्योपचार, चिकित्सा शिक्षा अध्ययनमा समेत क्षेत्रबासीलाई अवसर दिनुका साथै प्रत्यक्ष र परोक्षरुपमा विकास निर्माणलगायतका समस्या समाधानमा साथ रहने गरेकाले उनको लोकप्रियता बढेको छ ।
ठाउँठाउँमा सुनीलले एम्बुलेन्स प्रदान गरेका छन् । आफ्नो क्षेत्रलाई केन्द्रित गरेर स्वास्थ्योपचार सेवालाई सहज बनाएका छन् । वर्ष दिनभरि नै निःशुल्क स्वास्थ्य शिविर चलाउँछन् । विपन्नलाई निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । रोजगारी दिएका छन् ।
सुनीलले सडक, सिँचाई, खानेपानीको सहज सुविधा, गरिब, विपन्नलगायतका समुदायका विद्यार्थीलाई चिकित्सका शिक्षा निःशुल्क अध्ययन, युवाहरुलाई रोजगारी, चिसाङ र डाँस खोलाको कटान जस्ता समस्यालाई चुनावी मुद्दा बनाएका छन् । उनले अव्यवस्थित सुकुम्बासी समस्या र जग्गामा द्वैध स्वामित्वको समस्या पनि यहाँको पुरानै रहेकाले प्रमुख चुनावी मुद्दा बनाएको बताए ।
भानुभक्तमाथि भने अघिल्लो चुनावमा निर्वाचित भएपछि आफ्नो क्षेत्रलाई बेवास्ता गरेको आरोप लागेको छ । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा रहँदा कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा निदानका लागि प्रभावकारी काम गर्न नसक्नुका साथै उपकरण र खोप खरिदलगायतमा मुछिएर विवादित बने । क्षेत्रबासीसँग गरेको बाचासमेत बिर्सिदिकाले पनि यो चुनाव उनका लागि चुनौतीपूर्ण बनेको छ ।
भानभुक्तले अघिल्लो चुनावमा सुकुम्बासी समस्या समाधान गर्ने प्रमुख चुनावी मुद्दा बनाएका थिए । तर समस्या समाधान नभएको भन्दै सुकुम्बासी समुदाय उनीसँग रुष्ट बनेका छन् । अघिल्लो चुनावमा जितेपछि सुरु गरेका अनेकौं विकासे योजना पूरा गर्न आफूलाई क्षेत्रबासीले जिताउने भानुभक्त बताउँछन् । उनले आफ्नो पार्टीले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेर काम सुरु गरेको बताए । भने, ‘यस कामले निरन्तरता पाइरहेकाले अब चाँडै यो समस्याले स्थायी समाधान पाउने छ ।’
साबिकको क्षेत्र नम्बर २, ३ र ८ लाई मिलाएर अहिले बनेको यो क्षेत्रमा २०४८ सालदेखि दोस्रो संविधानसभा निर्वाचनसम्म बामपन्थीकै बर्चश्व रहयो । सबै निर्वाचनमा यो क्षेत्रबाट बामपन्थी उम्मेदवार विजयी बने । यसअघि भरतमोहन अधिकारी, लालबाबु पण्डित, गोपी अछामी, लालबहादुर मगरले संसद र संविधानसभामा प्रतिनिधित्व गरिसकेका छन् ।
पूर्वपश्चिम राजमार्गले बीचबाट जोडेको यो निर्वाचन क्षेत्र विकासका दृष्टिले भने सधँै पछाडि परिरहेको स्थानीय बताउँछन् । यस क्षेत्रमा ९ वटा दल र ६ जना स्वतन्त्र गरी १५ जना उम्मेदवार प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् । मतदाता १ लाख ४९ हजार ८३३ छन् ।
पथरीशनिश्चरे नगरपालिकाको वडा १, २, ३, ४, ७, ८, ९ र १०, बेलबारी नगरपालिकाको वडा १, २, ३, ४, ८, ९, १० र ११, सुन्दरहरैँचा नगरपालिकाको वडा १, ८, ९, १०, ११ र १२ र कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७ गरी २६ वटा वडा रहेको यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी मतदाता रहेका हुन् । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा कांग्रेसले एक उपप्रमुखसहित ११, एमालेले चारवटै पालिकाका प्रमुख तथा अध्यक्ष र दुई उपप्रमुख र उपाध्यक्षसहित १४ वटा र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् ।
चारवटै पालिकामा वडाध्यक्षहरुले प्राप्त गरेको मतमा एमाले ४३१ मतले मात्रै अगाडि देखिन्छ । गत स्थानीय निर्वाचनमा एमालेलाई ३७ हजार ४१०, कांग्रेसलाई ३६ हजार ९७९, माओवादीलाई ७ हजार ३७३, नेकपा (एकीकृत समाजवादी)लाई १ हजार ८५५, जनता समाजवादी पार्टीलाई ३८३ र राप्रपालाई २ हजार २२२ मत प्राप्त भएको थियो । वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा सत्तारुढ गठबन्धन एमाले गठबन्धनभन्दा ८ हजार ४१४ मतले अगाडि देखिन्छ ।