विराटनगर । आँखा परीक्षणका लागि अस्पतालमा आउने २८ प्रतिशत बिरामीमा मधुमेह रोग लागेको पाइएको छ । विश्व मधुमेह दिवसका अवसरमा गोल्छा आँखा अस्पतालले विराटनगरमा सोमबार आयोजित कार्यक्रममा यो जानकारी दिइएको हो ।

चिकित्सकहरूले अस्पतालमा आँखा जाँच गर्न आउने २८ प्रतिशत विरामीमा मधुमेह रोग लागेको पाइएको जानकारी दिएका हुन् ।

मधुमेह रोगले आँखामा गम्भीर असर पार्नसक्ने भएकाले मधुमेह रोगीले हरेक ६ महिनामा आँखा परीक्षण गराउन चिकित्सकहरूले सुझाव पनि दिएका छन् ।

गोल्छा आँखा अस्पतालका डा. सुवास पोखरेलले मधुमेहका बिरामीहरूले अनिवार्य आँखाको परिक्षण गर्नुपर्ने बताए । उनले मधुमेहले आँखामा समस्या पार्ने भएकाले समयमै आँखा जाँच नगरे दृष्टिसमेत गुम्नसक्ने बताए ।

उनले भने ‘मधुमेह रोग लागेका बिरामीले हरेक ६ महिनामा नियमित रुपमा आँखा परीक्षण नगरे र आँखामा समस्या आउँदा हेलचक्राइँ गरे दृष्टिसमेत गुम्न सक्छ ।’

आँखामा पटक–पटक आनो आए, आँखा सुख्खा हुने, छिटो–छिटो चस्माको पावर परिवर्तन नहुनेजस्ता लक्षणहरू देखिए मधुमेह लागेको हुनसक्ने डा. पोखरेलले बताए ।

गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले गोल्छा आँखा अस्पतालमा दैनिक ३ सयदेखि ३ सय ५० जना आँखा जाँच गर्न आउने गरेको जानकारी दिए । अस्पतालमा आँखा जाँच गर्न आउनेमध्ये २८ प्रतिशत मधुमेहका रोगी हुनेगरेको महतोले बताए ।

28
Shares
२८ कार्तिक २०७९, सोमबार २०:१६