विराटनगर । नियमित स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सरसफाइमा ध्यान दिने, स्वस्थकर खानेकुरा खानेजस्ता बानी गरे क्यान्सरलगायत गम्भीर रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।
राउन्ड टेबलले विराटनगरमा प्रोस्टेट तथा अण्डकोषको क्यान्सरबारे जनचेतनाका लागि आयोजना गरेको छलफलमा सहभागी उनीहरुले नियमित स्वास्थ्य परीक्षण गराउन सुझाव दिएका छन् ।अध्यक्ष सुमीत गोयलको नेतृत्वमा रहेको संस्थाले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा आँखा, दाँत र मूत्र प्रणालीका वरिष्ठ चिकित्सकले धारणा राखेका थिए ।
अध्यक्ष गोयलका अनुसार १८ देखि ४० वर्षका युवालगायत सबैमा नोभेम्बर महिनाभर क्यान्सरविरुद्ध जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ ।विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका डा. जुबिन सिलवालका अनुसार सामान्यतया ६० वर्षभन्दा बढी उमेरकाहरु प्रोस्टेट क्यान्सर हुन सक्छ । त्यसभन्दा कम उमेरकालाई पनि उक्त रोग हुन सक्ने उनले बताए ।
यो रोगका लक्ष्णहरु पिसाब गर्दा दुख्ने, रगत आउने, पोल्ने तथा मोटोपन भएमा समस्या हुने यो समस्या वंशानुगत पनि हुन सक्ने जनाइएको छ ।
युवाहरुमा अण्डकोषको क्यान्सर हुने खतरा रहने चिकित्सकले बताएका छन् । जन्मिएको शिशु दुई वर्षसम्म अण्डकोष थैलीमा नझुण्डिएको अवस्थामा, अण्डकोष भारी भएको अवस्थामा, पानी जमेको अवस्थामा परीक्षण गर्नुपर्ने बताइएको छ ।
यस रोगबाट बच्नका लागि नियमित परीक्षण, फास्ट फुड नखाने, चिल्लो खानेकुराहरु धेरै प्रयोग नगर्ने गर्नुपर्ने जनाइएको छ ।
सूर्ति र मदिरा सेवन गर्दा पनि ती समस्या हुन सक्ने चिकित्सकको भनाइ छ ।
नारायण मेमोरियल क्लिनिकका उपाध्यक्ष डा. अभिषेक कुमारले मुखको क्यान्सर हुने कारणहरुमा ध्यान दिइ सावधानी अपनाउनुपर्ने बताए ।
सूर्ति खाने, दाँत राम्ररी सफा नगर्ने, सन्तुलित आहार नखाने जस्ता सामान्य आनीबानीले क्यान्स रोग निम्तन सक्ने जनाइएको छ ।
दाँत फोहोर हुँदा गिजा सुन्निने र त्यस्तो बेला ख्याल नगरे समस्या बढ्ने चिकित्सकले बताएका छन् ।
विराट आँखा अस्पतालका डा. ललित अग्रवालका अनुसार विराटनगरमा ओपीडीमा आउने सयजना बिरामीमध्ये आँखाका बिरामी ५० जना हुने गरेका छन् । तीमध्ये ५ जना मधुमेहका बिरामी हुन्छन् ।
डा. अग्रबालले मधुमेहका बिरामीलाई पैताला, मुटु, रगत नली, मृगौला, आँखा जस्ता अंगबारे चेतनशील भई होसियारी अपनाउनुपर्ने बताए ।
मधुमेहका बिरामीले आफ्नो वजन, नियमित रगतको चापमा ध्यान दिनुपर्ने सुझाव दिइएको छ ।
(प्रशिक्षार्थी)