विराटनगर । जलबिन्दु र मोतियाबिन्दुका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

सम्बन्धित क्षेत्रका विज्ञहरुले यसको मुख्य कारण मधुमेह भएको बताएका छन् । मधुमेहले आँखाको रक्तसञ्चारलाई असर गर्ने र त्यसले दीर्घकालीन समस्या ल्याउँदा जलबिन्दु र मोतियाबिन्दुको समस्या निम्तिने विज्ञहरुले बताएका हुन् ।

विश्व मधुमेह दिवसको अवसरमा विज्ञहरुले मधुमेहका कारण दृष्टिविहीन हुने सम्भावना उच्च हुँदै गएको बताए । मधुमेहको समस्या आउन नदिन र न्यूनीकरणमा ध्यान दिँदा दृष्टि बचाउन सकिने उनीहरुको सुझाव छ ।

‘मधुमेहले आँखामा असर गर्छ । मान्छेलाई दृष्टिविहीन नै बनाउँछ,’ विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पतालका डा. सुबास पोखरेलले भने, ‘समयमै उपचार गराउँदा आँखा सम्बन्धी समस्याको जोखिम कम हुन्छ । विशेष गरेर गर्भवती तथा धुमपान गर्ने व्यक्तिहरु यसको उच्च जोखिममा हुन्छन् ।’

मधुमेहसँग मिल्दोजुल्दो लक्षण देखिए तत्कालै चेकजाँच तथा उपचारमा ध्यान दिनुपर्ने डा. पोखरेलको भनाइ छ । आँखामा कुनै समस्या आएमा तत्काल नेत्र रोग विशेषज्ञको सल्लाह अनुसार उपचार गराउनुपर्ने उनले बताए ।

पोखरेलका अनुसार मधुमेहका कारण आँखामा असर पुगेमा लेजर पद्धति, सुईको माध्यम र भिट्रीयोरेटिल शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ ।

357
Shares
२८ कार्तिक २०७९, सोमबार १८:०२