विराटनगनरमा सोमबार पत्रकार सम्मेलन गर्दै राप्रपाको कार्यसम्पादन समितिका सदस्य पौडेलले पुराना शक्तिमा मतदाताको भरोसा टुटेको र नयाँ समूहसँग विश्वास पैदा भइनसकेको अवस्थामा राप्रपा मजवुत शक्ति बनेर आएको बताए । राप्रपाले निर्वाचनबाट राम्रो नतिजा हासिल गर्ने र पार्टी अध्यक्ष लिङ्देन मुलुकको प्रधानमन्त्री बन्ने दाबी उनले गरेका छन् ।
उनले राप्रपाले शासकीय स्वरुप, शिक्षा, स्वास्थ्य, न्याय, रोजगारी सिर्जना, पूर्वाधार निर्माण, विकास, समृद्धि जस्ता विषयमा जनता सामु भरपर्दो विकल्पअगाडि सारेको बताए । इतिहासको सम्मान, धर्म, संस्कृति, परम्पराको संरक्षण राप्रपाले गर्ने भएकाले जनताले एजेन्डा मन पराएको पौडेलको भनाइ छ ।यो निर्वाचनबाट सिंगो देशले नै नेतृत्व परिवर्तन चाहेको बताउँदै उनले आम जनसमुदायले राजेन्द्र लिङ्देनको नेतृत्व खोजेको बताए । राप्रपाले देशको नेतृत्व गर्ने अवस्था आउँदा पार्टीले लिङ्देनलाई नै अगाडि बढाउने र अबको प्रधानमन्त्री लिङ्देन नै हुने उनको भनाइ छ ।
लिङ्देनले राप्रपाभित्र नेतृत्व परिवर्तनका लागि गरेको संघर्ष र सफलताबाट स्थानीय तहको निर्वाचन र आगामी निर्वाचनका लागि युवा उम्मेदवारीको आकर्षण बढेको दाबी पौडेलले गरेका छन् । उनले यथास्थितिमा देशअगाडि बढ्न सक्दैन भन्ने निस्कर्ष निकालेर मुलुक बदल्न सम्भव छ भन्ने जागरणसहित राप्रपाले यो निर्वाचनलाई अवसरका रूपमा लिएको बताए ।‘क्रान्ति, परिवर्तन र आन्दोलनका नाममा हामीले धेरै वर्ष खेर फाल्यौं । ३०/४० वर्षअघि हामीसरह रहेका देश धेरैअगाडि बढिसके,’ उनले भने, ‘हामी अझै पनि गरिबी, पछौटेपन, रोग, भोक र अशिक्षासँग जुधिरहेका छौँ । आम मतदातालाई परिवर्तनका पक्षमा मतदान गर्न आह्वान गर्छौं ।’ ठूला भनिने दल र नेताहरुको गलत नीति, गलत शैली र अकर्मण्यताका कारण वर्तमान राजनीतिप्रति वितृष्णा जागिरहेको भन्दै उनले राप्रपामा नेतृत्व परिवर्तन भएपछि युवाहरु राजनीतिमा समाहित हुने लहर चलेको उल्लेख गरे ।
पौडेलले यसपटक प्रत्यक्षतर्फ २० सिटभन्दा बढी जित्ने र समानुपातिकमा राप्रपा पहिलो दल बन्ने दाबीसमेत गरे । ‘आगामी संसदमा राप्रपा हस्तक्षेपकारी शक्तिको रूपमा आउने छ । राप्रपा सत्ता हैन, मुद्दा केन्द्रित बन्छ,’ उनले भने, ‘सरकारको नेतृत्व गर्ने अवसर आउँदा जनमतको सम्मान गर्दै राप्रपा सरकारमा जान्छ र नेतृत्व गर्छ । त्यही भएकाले उच्च मनोबलका साथ चुनावमा होमिएका छौँ ।’
उनका अनुसार राप्रपाले प्रतिनिधिसभातर्फ १४२ र प्रदेशसभातर्फ २८६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेता पौडेल प्रतिनिधिसभातर्फ राप्रपाबाट समानुपातिक उम्मेदवार हुन् । विराटनगरमै जन्मिएका ६८ वर्षीय पौडेलले चलचित्र क्षेत्रमा ४ दशक विताए ।
उनले नेपाली चलचित्र क्षेत्रको विकास तथा रोजगारी सिर्जनामा आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको र विगत १ दशकदेखि राजनीतिमा सक्रिय बनेको बताए । पौडेल २०३९ सालमा विराटनगरको उपप्रधानपञ्च बनेका थिए ।