सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले पार्टीको उम्मेदवारको गाडीमा ढुंगा हान्ने व्यक्तिलाई कारबाही गर्न माग गरेका छन् ।
‘४ मंसिरसम्म कुदिरहन्छन्’ उम्मेदवारले प्रयाेग गर्ने गाडीबारे ओलीले भने, ‘कुद्न दिउँ न । किन गाडीमा ढुंगा हान्नु पर्यो ?’रवि लामिछानेप्रति इंगित गर्दै उनले एउटा युवा राजनीतिमा आए त के बिगारे भन्दै प्रश्न गरे । तर प्रश्नसँगै ‘घन्टी पनि बजाउन नपाउनू’ भन्दै व्यंग्य समेत गर्न भ्याए । ‘कुनै दमाहा बजाएको होइन, नरसिंहा बजाएको होइन’ ओलीले भने, ‘एउटा घन्टी पनि बजाउन नपाउनू ?’
कार्यक्रममा ओलीले आफ्नो सरकारको पालामा भएगरेका कामबारे चर्चा गरे । वर्तमान गठबन्धन सरकारको कडा विरोध गरेका उनले अहिलेको सरकार खान मात्र आएको टिप्पणी गरे । आफ्नो सरकारको पालामा विकासैविकास भएको तर अहिलेको सरकारले सबै विकास आयोजनाको बजेट काटेको भन्दै उनले आपत्ति जनाए ।नेपाली कांग्रेसप्रति रोष व्यक्त गरेका उनले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाका लागि पनि भोट मागिदिए । आफू चितवन भोट माग्न आएको भन्दै उनले एमाले उम्मेदवार र एमालेले समर्थन गरेका उम्मेदवारलाई विजयी गराउन आग्रह समेत गरेका छन् ।