विराटनगर । सिरहामा पोखरीमा डुबेर तीनजना भारतीय बालकको मृत्यु भएको छ । मिर्चैयास्थित पोखरीमा आइतबार साँझ उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीमध्ये दुईजना दाजुभाइ हुन् । इलाका प्रहरी मिर्चैयाका अनुसार मिर्चैया नगरपालिका–१ स्थित जेके इँटा उद्योगमा कार्यरत भारतको विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन, १० वर्षीय नवी हसन र जोगवनी मिरग्न्जका नन्दलाल दासका १० वर्षीय छोरा नितेशको मृत्यु भएको हो ।
इँटा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनैजनालाई तत्काल निकालेका थिए । अली र नवीको घटनास्थलमै मृत्यु थियो ।
प्रहरीका अनुसार नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तीनैजना बालकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।