काठमाडौं । मंसिर ४ गते विश्वकप फुटबल सुरु हुँदैछ । विश्वकप आयोजना गर्ने पहिलो कतार खाडी राष्ट्र बन्दै छ।

यसपटकको विश्वकप विभिन्न कारणले गर्दा विगतका प्रतियोगिताहरुभन्दा भिन्न विशेषताको हुनेछ । कतारले विश्वकपका लागि भने ठूलो धनराशि खर्च गरेको छ । यसपटक प्रविधिको प्रयोग पनि अत्यधिक भइरहेको छ ।

कतारले विश्वकपका लागि फिफालाई मनाउने क्रममा आफूले कसरी विश्वकप आयोजना गर्न सक्छु भनेर विस्तृत खाका प्रस्तुत गर्दै आफ्नो दाबेदारीमा तत्कालीन फिफा अध्यक्ष सेप ब्लाटर र युरोपियन फुटबल महासंघका अध्यक्ष मिचेल प्लाटिनीलाई आश्वस्त पार्दै विश्वकपको अधिकार लिएको थियो।

मुख्य रुपमा कतारमाथि विश्वकप आयोजनाको समय हुने तीव्र गर्मीलाई कसरी रोक्ला भन्ने प्रश्न थियो । कतारले आफूले आफ्नो सारा शक्ति लगाएर विश्वकपका लागि औसत तापक्रम बनाउन सक्ने बताएको थियो ।

४० डिग्रिमाथि तापक्रम हुने कतारमा तापक्रम नियन्त्रणका लागि कतारले विशेष प्रविधिको प्रयोग गरेको छ । कतारको चर्को गर्मीलाई शितल पार्न प्रयोग गरिएको प्रविधि भनेको प्लेनभित्र हावा फाल्नका लागि प्रयोग गरिने प्रविधिजस्तै हो तर प्लेनभित्र जस्तो तीव्र गतिमा भने रङ्गशालामा हावा फालिने छैन ।

कतारको मैदानमा खेलाडीलाई मात्र होइन हजारौँ सङ्ख्यामा उपस्थित हुने दर्शकका लागि समेत तापक्रम नियन्त्रण गर्नुपर्ने हुन्छ । मौसमको तापक्रम एकातिर रहँदा मानिसहरूबाट निस्कने तापक्रम पनि आफैंमा गर्मी मानिन्छ ।

यस्तोमा दर्शकका लागि हरेक सिटमुनि राखिएको चिसो हावाको पाइपबाट सानो मात्रामा हावा बाहिर निस्किने छ र शितलता प्रदान गर्नेछ । सानो प्वालहरुबाट निस्कने हावाको महसुस दर्शकले गर्ने छैनन् तर उनीहरुले गर्मीको महसुस गर्नुपर्ने छैन ।

दर्शकबाहेक मैदानमा खेल्ने खेलाडीको तापक्रमसमेत मिलाउनु कम चुनौतीपूर्ण थिएन । किनकि खेलाडीहरुले १० किलोमिटरसम्म दौडिएर ३ लिटरसम्म पसिना निकाल्न सक्ने छन् । यस्तोमा उनीहरुको शरीरलाई शितलता आवश्यक पर्छ ।

त्यसैले विश्वकप खेल्ने मैदानमा ठूला पाइपहरुबाट चिसो हावा फालेर मैदानको केही माथि हावाको चाप मेन्टेन गरिएको छ ।

यो प्रविधिका विज्ञ डा. साउद अब्दुल घानी भन्छन्, ‘मैदानमा हुने तापक्रमलाई मिलाउनका लागि आवश्यक मात्रामा चिसो हावा मैदानभन्दा केही माथि रहने गरी व्यवस्थापन गरिएको छ ।’

त्यसो त चिसो हावा कसरी बहन्छ र कसरी माथि बस्छ भन्ने कुरा खेलाडीहरुले भने चाल पाउने छैनन् । घानी भन्छन्, ‘खेलाडीहरुले प्राकृतिक फिल गरुन् भन्नका लागि सबै कुराहरु व्यवस्थित तरिकाले मिलाएका छौँ ।’

खेलाडी र दर्शकदीर्घाभन्दा दुई मिटर माथि मात्र चिसो हावाको तह बन्छ। चिसो हावा बाहिरको तातो हावाले तात्दै गएपछि मध्यम उचाइमा रहेका पाइपका साना प्वालबाट पुनः तातो हावालाई बाहिर पठाइन्छ ।

त्यही हावालाई सफा गरेर पुनः चिसो बनाएरभित्र पठाइन्छ । यही प्रक्रिया निरन्तर चल्ने छ । यो सबै प्रणालीलाई मिलाउनका लागि दोहा बाहिर ८० किलोमिटर टाढा रहेको सोलार उर्जाबाट यो प्रक्रिया मिलाइएको छ ।

बढी ग्रीनहाउस ग्यासबाट हुने क्षतिपूर्ति कम होस् भनेर नवीकरणीय उर्जालाई कतारले प्राथमिकता दिएको बताएको छ ।

उसले यो प्रविधिको प्रयोग कतारमा तीव्र गर्मी हुने जुन महिनामा उसले केही खेलहरु आयोजना गर्दै शितलता दिने प्रविधिको सफल परीक्षण गरेको छ ।

(समाचार एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु