नेतृत्वको आदेश पाएसँगै सहायक हवल्दार रेनुका बस्नेत बन्दोबस्तीका सामान बोकेर निर्वाचन गराउने जिम्मेवारीका साथ कार्यक्षेत्र जाँदै छिन् ।
यसअघि चार वटा चुनावी सुरक्षामा खटिएको अनुभव लिएकी रेनुका यस पटक पनि निकै उत्साहित छन् । उनीसँगै तीन पटक निर्वाचन सुरक्षाको अनुभव गरिसकेकी किरण हमाल पनि नुवाकोट जाँदै थिइन् । महिला भए पनि संगठन र राज्यले दिएको जिम्मेवारी पुरा गर्न अन्य समयभन्दा निर्वाचन विषेश हुने गरेको उनको अनुभव छ ।सप्तरीका जीवनकुमार यादवलाई पनि चुनावले पहाडको अनुभव लिने अवसर दिएको छ । सरुवाले देशका विभिन्न ठाउँमा पुग्ने भए पनि निर्वाचनको समयमा तराइको मान्छे पहाड उक्लिन पाउँदा उनका लागि नौलो अनुभव हुने छ ।
पर्वतका कृष्णबहादुर थापा निर्वाचनकै लागि तराईको जिल्ला धनुषा झर्दै छन् । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी परिचालन गरेको अन्तिम टोली काठमाडौंबाट आफ्नो कार्यक्षत्र खटिँदै गर्दाको दृष्य निर्कै रोचक थियो ।प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, ट्राफिक महाशाखा, लागुऔषध नियन्त्रण ब्युरो लगाएतका विशिष्टिकृत इकाइहरुमा कार्यरतसहित ७२ हजार जनशक्ति निर्वाचन खटिएका हुन् ।
काठमाडौं बाहिरका सबै जिल्लाहरुमा आवश्यकता अनुसार थप जनशक्ति पठाइएको हो । नेपाल प्रहरीसहित काठमाडौंबाट खटाइएका सशस्त्र प्रहरी बलसहितको सुरक्षा जनशक्ति मतदान सकिएको दुई दिनपछि फिर्ता हुने छ ।