सुपिका खड्का, सन्देश बस्नेत र मेगानी दास
सरिता कर्मकारविराटनगर । जनमत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु पुरानै एजेण्डाका साथ घरदैलो कार्यक्रम र प्रचारप्रसारमा सक्रिय छन् । मतदाताहरुसमक्ष अनेक खालका प्रतिबद्धता उनीहरुले प्रकट गरिरहेका छन् । पहिलेजस्तै बाचा र प्रतिबद्धता लिएर आएका उम्मेदवारहरुको अनुहार गत निर्वाचनका बेलाभन्दा निकै पछि मतदाता देख्न पाइरहेका छन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा दलहरुको घोषणापत्र मार्फत ‘रोजगारको सुविधा, विद्युत उत्पादन, गरिबमुक्त देश, बिजुली उत्पादन, इन्धनबाट चल्ने सवारी साधन जस्ता कागजी प्रतिबद्धता व्यक्त भइरहेका छन् ।चुनावको समयमा देखा पर्ने अनुहारहरु चुनाव पछि देखा पर्न मुस्किल पर्नुको कारण यसपटक भोट दिने नदिने भन्ने कुरामा कतिपय मतदाता अन्योलमा परेका छन् । पुरानै एजेण्डा, पुरानै प्रतिबद्धता लिएर आउने गरेको तर त्यसअनुसार कार्यानवयन नभएकामा मतदाताको गुनासो छ ।
‘बाढीको समस्या समाधान गरिदिनेलाई भोट’ : मेगानी दास, कटहरीमैले हालसम्म सात पटक भोट दिइसकेकी छु । सबै पार्टीका उम्मेदवार एकै खाले प्रतिबद्धता जनाउँदै भोट माग्न आउँछन् । बाटोलाई स्वर्ग बनाइदिने भन्दै हामीलाई भोट दिनुस् भन्दै हात जोडेर भोट मागेर जान्छन् । घर छेउमै खोला भएकाले वर्षामा घरभित्रै बाढी पस्छ । सडक पनि जलमग्न हुने भएकाले हिँड्न मुस्किल पर्छ । नाली सही ढङ्गले नबनाएको कारण पानी बगेर जाँदैन । जमेर बस्ने गरेको छ । हाम्रो गाउँ बस्तीमा व्यवस्थित सडक बनाउने र बाढीको समस्याबाट छुटकारा दिने नेतालाई भोट दिने सोचेकी छु ।
‘यसपटक युवालाई भोट’ : सन्देश बस्नेत, सुनबर्षी नगरपालिका
मैले अहिलेसम्म तीनपटक भोट दिसकेको छु । जसलाई भोट दिए पनि कसैले ठूलो परिवर्तन गर्न सकेका छैनन् । सडक निर्माण गरे पनि राम्रो गणस्तरको छैन । नयाँ नयाँ विकासको कार्य योजना आए पनि कुनै व्यवस्थित छैन । भित्री सडकहरु बनाइएको छ तर मूख्य सडक निर्माण नगर्नुको कारण धुलो उडेर हिँड्न नसक्ने अवस्था छ । यस पटकको भोट राम्रो र नयाँ युवाहरुलाई दिने विचार गरेको छु ।
‘आश्वासनमात्र दिनेलाई पत्याइँदैन’ : सुपिका खड्का, कटहरी
मैले यसअघि दुईपटक भोट दिएकी छु । हाम्रो बस्तीको मुख्य समस्या भनेको सडक, नाला अनि बाढी हो । घरनजिकै खोलानाला छन् र पालिकाले फोहार उठाउन पनि आउँदैनन् । सबैजना फोहोर खोला छेउमा फ्याँक्ने गर्दछन् । दुर्गन्ध फैलिएको छ । सडक व्यवस्थित छैन । नालालाई उचाई पारेर बनाइएको छ । जसले गर्दा सबै पानी बाटोमा जम्छ । उम्मेदवारहरु आएर सडक निर्माण गरिदिन्छौं, बाह्र कक्षासम्म नानीहरुलाई पढाई निःशुल्क गरिदिन्छौं हामीलाई एकचोछि विश्वास गरेर भोट दिनु भनि बिन्ती गर्छन् । तर पहिलेजस्तै यसपालि पनि आश्वासन दिनेलाई भने पत्याइँदैन । काम गर्नेलाई हाम्रो सहयोग रहनेछ ।
(प्रशिक्षार्थी)