विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरूलाई मतदाता शिक्षासम्बन्धी जानकारी गराएको छ ।

मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अनुसार स्थानीय तहको जिम्मेवारीमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रअहरूलाई महानगरले मतदाता शिक्षाबारे जानकारी गराएको हो ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यका साथ महानगर क्षेत्रभित्र सञ्चालित विद्यालयका प्रअहरूलाई मतदाता शिक्षाबारे जानकारी गराएको हो ।

‘स्थानीय पालिकाहरूमध्ये विराटनगर महानगरले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ,’ प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले भने, ‘यस्तो किसिमको कार्यक्रमले अन्य पालिकालाई गर्न उत्प्रेरित गर्नेछ ।’

कार्यक्रममा सहभागी प्रअहरूले विद्यालय गएर विद्यार्थीलाई मतदाता शिक्षाबारे जानकारी गराउनेछन् । कोइरालाका अनुसार यसले मत बदर संख्या घटाउनेछ ।

‘सबै विद्यार्थीका अभिभावक शिक्षित नहुन पनि सक्छन् । प्रअमार्फत मतदाता शिक्षा प्राप्त गरेका विद्यार्थीले आफ्ना अभिभावकलाई जानकारी गराउनेछन्,’ कोइरालाले भने, ‘यस किसिमको कार्यक्रमले निर्वाचनमा मत बदर प्रतिशत विगतमा भन्दा घट्ने हाम्रो विश्वास छ ।’

प्रमुख प्रशासकीय अधिकृत कोइरालासहित शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि, सामुदायिक विकास शाखा प्रमुख पुनम दाहालले प्रअहरूललाई मतदाता शिक्षाबारे जानकारी गराएका थिए ।

महानगरले आफ्ना स्रोतबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको दाहालले बताए । कार्यक्रममा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका १८० जना प्रधानाध्यापकहरूको सहभागिता थियो ।

35
Shares
२७ कार्तिक २०७९, आईतवार २०:३८