झापा । लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित झापाको बुद्धशान्ति गाउँपालिका–३ बाट प्रहरीले शनिबार राति एक जनालाई पक्राउ गरेको छ ।

कचनकवल गाउँपालिका–१ घर भइ बुद्धशान्ति–३ मा बस्दै आएका ३१ वर्षीय मोहमद हुसेनलाई राति ९ बजेतिर पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । उनका अनुसार लागूऔषध नियन्त्रण ब्युरो, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको संयुक्त टोलीले हुसेनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका हुसेनको साथबाट १ सय २ ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको छ । उक्त खैरो हेरोइन झापाको मेचीनगर नगरपालिका–८ का विकास राजवंशीसहित भारत गएर खरिद गरी ल्याएको उनले प्रहरीलाई बताएका थिए ।

त्यसपछि प्रहरीले राजवंशीको कोठामा छापा हानेको थियो । त्यस क्रममा कोठामा लुकाईछिपाई राखेको २५ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद भएको डीएसपी पाठकको भनाइ छ ।

राजवंशी फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । हुसेनविरुद्ध भने प्रहरीले लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीको छ ।
28
Shares
२७ कार्तिक २०७९, आईतवार ०९:२४