भित्तामा नानीहरूले कोरेका कखराहरु छन्
भित्तामा नानीहरूले बनाएका मुर्त अमुर्त चित्रहरु छन्
र भित्तामा भित्तै भएर टाँसिएका धमिला सम्झनाहरु छन् ।

र्याकमा पुराना जुत्ताहरु छन बस् लगाउने खुट्टाहरु छैनन्
दराजमा नानीहरूका स-साना पाइजामाहरु छन्
बस तोते बोली र खित्काहरु छैनन्
बगैंचामा फुलिरहेका घामफूल र घडी फूलहरु छन्
बस सजाउने चुल्ठोहरु छैनन् ।

कोही बेला भित्ताको चराको चित्र
भुर्रर उडेर कहीँ दूर जान्छ
त्यसबेला तिम्रा बाआमा तिम्लाइ आशिर्वाद र सम्झनाहरु पठाउँछन्
सायद त्यसबेला उता तिमीलाइ बाडुली लागेको हुनुपर्छ।

कोही बेला तिम्रा बा एक्लै मनसँग
तिम्रो कुरा गर्दै बरबराइ रहेको हुन्छन्
सायद त्यसबेला उता तिम्रो घाँटी खसखसाइ रहेको हुनुपर्छ।

हरेक साँझ बिहान पहिलो गाँस खानुअघि
तिम्री आमा तिमीलाई सम्झिन्छिन्
सायद त्यसबेला उता तिम्रो छाती चर्किएको हुनुपर्छ।

हरेक चाडपर्वहरुमा
तिम्रो घरलाई तिम्रो अभाव खड्किन्छ
त्यसबेला तिमी सस्तो रेडिमेट शुभकामनाका
शब्दहरु लिएर बिद्युतीय यन्त्र मार्फत झुल्किन्छौ
ह्याप्पी दसैँ
ह्याप्पी तिहार

तिम्रा शुभेच्छाहरु आएर तिम्रा बिरामी आमालाई
डोर्याउँदै डोर्याउँदै अस्पताल पुर्याउँदैनन्
तिम्रा शुभेच्छाहरु आएर पिँढीबाट लडेर घाइते
तिम्रा बाको शरीरमा तेल लगाएर मालिस गरिदिँदैन्

तिम्रा शुभेच्छाहरु आएर
तिम्री आमाको लट्टा परेको केश कोरिबाटी गरिदिँदैनन्
र एउटा कुरा यो पनि कि,
तिम्रा शुभेच्छाहरुले मात्रै यो देशको उन्नति सम्भव छैन

तिम्रा बालाई पाखन्बेद र ठूलो ओखती पिँधेर खुवाउन
तिम्रै हात चाहिन्छ
तिम्री आमाको उध्रेको चोली सिलाउन
तिम्रै हात चाहिछ र,
यो बन्जर भूमिमा सम्भावनाको एउटा एउटा घामजून
रोप्न पनि तिम्रै हात चाहिन्छ
त्यसैले फर्क दाजै फर्क यो देश तिम्रै अनुपस्थितिमा
स्वयम्भूको आँखा भएर टोलाइ रहेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु