विराटनगर । खोटाङमा निर्वाचनको क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै १० जनाविरुद्ध उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आचारसंहिताविपरीत चुनावी कार्यक्रम गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाअध्यक्ष लीलाकुमार चौहानसहित १० जना विरुद्ध कारबाहीको माग गर्दै उजुरी परेको हो ।

स्थानीय अन्तपूर्ण मावि बन्द गराउँदै शिक्षक र विद्यार्थीहरुलाई सहभागी गराएर उक्त वडा कार्यालयको प्रांगणमा एमालेको चुनावी कार्यक्रम गरिएको भन्दै वडाअध्यक्ष चौहानसहित वडा सदस्यहरु पदमकुमारी राई, हरिकुमार खत्री, फणिन्द्र श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, अन्नपूर्ण माविका प्रअ रेखादेवी बस्नेत, शिक्षकहरु गोपाल राउल, रामकुमारी राई, श्यामकुमार फुयाल र सहरी स्वास्थ्य केन्द्रका अहेव सुशीला देउजा विरुद्ध कारबाहीको माग गर्दै कात्तिक १८ गते नै आफूले उजरी दिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ का जमानशेर राईले बताए ।

एमालेले कात्तिक १८ गते देउसी कार्यक्रम भनेर प्रदेशसभा खोटाङ २ का उम्मेदवार रामप्रसाद दङ्गाल, एमाले केन्द्रीय सदस्य उषाकला राई, जिल्ला कमिटी सहसचिव दीपनारायण रिजाल लगायतको उपस्थितिमा चुनावी सभा गरेको स्थानीयको भनाइ छ ।
14
Shares
२७ कार्तिक २०७९, आईतवार ०३:२२