काठमाडौं । महिला रेफ्रीले पहिलोपल्ट विश्वकपका खेल खेलाउने भएका छन् । यस अर्थमा महिला रेफ्रीले विश्वकपको नयाँ इतिहास बनाउँदै छन् । इतिहास रच्ने संघारमा रहेका तीन महिला रेफ्री हुन्, फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिता ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अहिलेसम्म ३६ रेफ्रीको सूची जारी गरेको छ । त्यसमा तीन महिला परेका हुन् । साथै तीन महिला सहायक रेफ्री पनि छन्, जसलाई विश्वकपका क्रममा देख्न सकिन्छ । ६९ सहायक रेफ्रीमा उनीहरूको नाम समेटिएको हो । ती भाग्यमानी सहायक महिला रेफ्री हुन्, ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट । यी सबै नामको एउटै विशेषता हो । समाचार एजेन्सी एएफपीका अनुसार उनीहरूले यसअघि पुरुष फुटबलमा निर्णायकको भूमिका खेलिसकेका छन् ।

फिफाको रेफ्री कमिटीका प्रमुख हुन्, पियरलुइजी कोलिना । उनको एउटै मत छ । यो हो, कोही कसैको लिङ्गमा नजाऔं । मुख्य कुरा काम नै हो, कसले कति उम्दा काम गर्न सक्छ भन्ने नै हो । फ्रापार्ट ३८ वर्षकी भइन् । उनलाई युरोपेली फुटबलकी उदीयमान रेफ्री मानिएको छ । उनी फ्रान्सेली लिग–वानको खेल खेलाउने पहिलो रेफ्री हुन्, उनले यो उपलब्धि सन् २०१९ मा पाएकी थिइन् । त्यही वर्ष उनले आफ्नै देशमा भएको महिला विश्वकप खेलाएकी थिइन् ।

सन् २०१९ को लिभरपुल र चेल्सीबीचको यूईएफए सुपर लिग पनि फ्रापार्टले खेलाएकी थिइन् । त्यसपछि नै उनले सन् २०२० को युरोपेली च्याम्पियन्स लिग र फ्रेन्च कप फाइनलमा आफ्नो छाप छाडिन् । त्यसको अर्थ कतारमा उनका लागि सबथोक नयाँ नौलो हुने छैन । उनी भन्छिन्, ‘म खुसी छु, किनभने मैले यो अपेक्षा गरेकी थिइना । विश्वकपभन्दा ठूलो अरू केही हुनै सक्दैन ।’ फ्रापार्टभन्दा यामाशिता दुई वर्षले कान्छी छन् ।

उनलाई पनि एसियाली फुटबलको उदीयमान रेफ्री मानिन्छ । जापानी फुटबलमा त उनी असाध्यै परिचित नाम हो । उनले पनि जापानमा पुरुष फुटबल खेलाइसकेकी छन् । सन् २०१९ को एसियन च्याम्पियन्स लिगमा उनले रेफ्रीको भूमिका निभाइन् । एसियाली फुटबलमा यस्तो उपलब्धि हात पार्ने उनी पहिलो महिला बनिन् । यसै वर्षदेखि उनी व्यावसायिक रेफ्री नै भएकी छन् । यसका लागि उनले फिटनेस कोचको काम छाडेकी थिइन् । उनी भन्छिन्, ‘विश्वकपमा रेफ्रीको भूमिका निभाउने ठूलो जिम्मेवारी हो । म यसका लागि तयार पनि छु । खुसी छु ।’

अर्कोतर्फ ३४ वर्षीया मुकानसन्गाको रेफ्री जीवन पल्टाउने हो भने त्यो पनि उत्तिकै गर्विलो छ । उनलाई विश्वकपमा किन बोलाइयो भने उनले यसै वर्षको जनवरीमा पुरुषको अफ्रिकी कप अफ नेसन्स खेलाएकी थिइन् । उनको प्रदर्शन देखेर सबै प्रभावित रहे । कुनै समय उनको सपना थियो, व्यावसायिक बास्केटबल खेलाडी बन्ने ।

तर उनी २० वर्ष पनि भएकी थिइनन्, आफ्नो देशको घरेलु फुटबलमा रेफ्रीको भूमिका निभाउन सुरु गरेकी थिइन् । यी तीन रेफ्री र तिनै सहायक रेफ्रीको एउटै समान मत छ । त्यो हो, आफूहरू महिला भएको दृष्टिकोणले मात्र नहेरियोस् । महिला भएकै आधारमा उनीहरू सबैको विशेष नजरमा पनि पर्न चाहँदैनन् । यामासिता भन्छिन्, ‘फुटबल सुन्दर खेल हो र यसलाई सुन्दर राख्न मैले सक्दो सबै गर्नेछु । मलाई शक्ति वा नियन्त्रणजस्ता शब्दमा कुनै रूचि छैन ।’

त्यसमाथि फ्रापार्ट त कूटनीतिक पाराकी छन् । उनी दमदार बोल्छिन् । उनी भन्छिन्, ‘अब सबै कामलाई लैंगिक दृष्टिकोणले हेर्नुहुन्न । हेर्नुपर्ने भनेको काम नै हो । फिफाले अबको विश्वकपमा महिला रेफ्रीलाई मौका दिएर दिन खोजेको एउटै सन्देश हो, लैंगिक समानता महत्त्वपूर्ण छ । हामी अर्को पु्स्ताका महिला रेफ्रीको विकास होस् भन्न चाहन्छौं र हामी तिनका लागि आदर्श हुन चाहन्छौं । म महिलावादी पनि होइन, तर महिला सहभागिता अगाडि बढेको हेर्न चाहन्छु ।’

35
Shares
२७ कार्तिक २०७९, आईतवार ०३:१८