क्यानडा र अमेरिकाका विश्वसम्पदा क्षेत्र लुआने, वाङ्गेल इलियास, ग्लेसियर बे र तात्सेनसिनी–अल्सेक, अर्जेन्टिनाको लस ग्लेसियर्स राष्ट्रिय निकुञ्ज, न्युजिल्यान्डको ते बाहिपौनामु, स्विजरल्यान्डको स्विस आल्पस जङ्गफ्राउ, डेनमार्कको लुलिसाट आइसजोर्ड, नर्वेको गेराङ्जोर्ड र नर्वेजोर्ड, ताजिकस्तानस्थित पामिरको पहाडमा रहेको ताजिक राष्ट्रिय निकुञ्ज, आइसल्यान्डको भात्नाज्योक्युल नेसनल पार्कसहित दुई राष्ट्रिय निकुञ्ज क्षेत्रको हिम गलन उच्च अवस्थामा देखिएको छ।
त्यस्तै तान्जिनियाको माउन्ड किलिमन्जरो क्षेत्र, केन्याको राष्ट्रिय निकुञ्ज र वनक्षेत्र, युगान्डाको रुन्जोरी पर्वत राष्ट्रिय निकुञ्ज, कङ्गोको बिरुङ्गा राष्ट्रिय निकुञ्जसँगै अलास्का, मध्यएसिया, मध्ययुरोप र दक्षिण एन्डिज पर्वतछेउका ठूला हिमनदीहरू गरेर ५० वटा विश्वसम्पदा लोप हुने प्रतिवेदनमा उल्लेख गरेको छ।हालसालै सार्वजनिक भएको तापक्रम वृद्धिको नयाँ गतिले २ डिग्री सेल्सियस नाघ्ने तथ्य वास्तविकतामा परिणत भएमा उच्च हिमाली भेगका विश्वसम्पदा जोगाउन नसकिने युनेस्कोले घोषणा गरेको छ। तर पहिलेको घोषणाअनुसार विश्वव्यापी तापक्रमलाई १।५ डिग्री सेल्सियसमा रोक्न सकेको खण्डमा भने ५० वटा हिमाली विश्व सम्पदामध्ये दुईतिहाइलाई बचाउन सकिने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ।
इजिप्टमा जारी कोप–२७ को सम्मेलनका लागि यो विषय निकै चुनौतीपूर्ण हुने अध्ययनमा उल्लेख छ। लोप हुने यात्रामा अग्रसर ५० वटा विश्वसम्पदा १८ हजार ६०० हिम खण्डमा अवस्थित छन्। जसले कुल ६६ हजार वर्गकिलोमिटर हिमक्षेत्र तथा पृथ्वीको कुल हिमक्षेत्रको १० प्रतिशत भूभाग समेट्छ।स्याटेलाइट तथ्यको विश्लेषणमा आधारित अध्ययनले दुई हजार हिमनदीहरू द्रुत गतिमा छोटिँदै गएका छन्। यसअनुसार यस क्षेत्रबाट हरेक वर्ष करिब ५८ अर्ब टन बरफ बिलाउँदै गएको छ। जसले समुद्री सतहमा वार्षिक ५ प्रतिशत जलक्षेत्रको बढोत्तरी भइरहेको देखाउँछ। हालकै हिसाबले तापक्रम बढ्दै जाँदा सन् २०५० सम्म ५० वटामध्ये एकतिहाइ क्षेत्र र सन् २१०० सम्म सबै विश्वसम्पदा लोप हुने पूर्वानुमान युनेस्काले गरेको ‘गोरखापत्र’ दैनिकले उल्लेख गरेको छ ।