विराटनगर । फेसबुकलगायत सामाजिक सञ्जाल सञ्चालक कम्पनी ‘मेटा’ ले ११ हजार कर्मचारीलाई कामबाट निकालेको छ । त्यसरी निकालिनेमा विश्वका विभिन्न मुलुकका नागरिक छन् । तीमध्ये भारतीय पनि छन् । भारतकी एक सूचना–प्रविधि विशेषज्ञ महिलाले आफू उक्त संस्थामा जोडिएको दुई दिनमै अलग हुनुपरेको छ ।

मेटाले कामबाट निकालेपछि नीलिमा अग्रवालले भनेकी छन्, ‘म भारतबाट एक साताअघि मात्र क्यानाडा आएकी थिएँ, लामो भिसा प्रक्रिया पूरा गर्दै दुई दिनअघि मेटासँग आवद्ध भएकी थिएँ तर दुर्भाग्यपूर्ण दुखद दिन आयो र मलाई जागिरबाट निकाला गरियो ।’

फेसबुकले खर्च कटौती गर्ने भन्दै विभिन्न मुलुकमा रहेका आफ्ना ११ हजार कर्मचारी घटाएको छ । तिनैमा पर्छिन् नीलिमा पनि। कामबाट निकालिएपछि उनले सामाजिक मिडिया मञ्च ‘लिंक्डइन’ मा आफ्नो दुखेसो पोखेकी हुन् ।

उनी दुई वर्षदेखि भारतको हैदराबादस्थित माइक्रोसफ्टको कार्यालयमा काम गरिरहेकी थिइन् । त्यो काम उनले मेटाका लागि छाडेकी थिइन् । विश्वजीत झा नामका अर्का एक भारतीयले पनि मेटाबाट निकालिनु परेको छ । उनी बेंगलुरुमा अमेजनको कार्यालयमा तीन वर्षदेखि काम गरिरहेका थिए ।

उनी तीन दिनअघि मात्र मेटासँग जोडिएका थिए। कर्मचारी कटौतीमा उनी पनि परेका छन् । मेटा कम्पनीले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता लोकप्रिय सामाजिक सञ्जालहरु सञ्चालन गरिरहेको छ ।

सञ्चालक कम्पनीका मुख्य कार्यकारी अधिकृत मार्क जुकरबर्गले सूचना प्रविधि उद्योगहरुमा आर्थिक मन्दीका कारण संकटको अवस्था आएकाले कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको कर्मचारीलाई पत्राचार गरी जानकारी गराएका थिए ।

उनले यसो गर्नु आफ्नो अपेक्षाअनुरुपको काम नभएको भन्दै दुर्भाग्यपूर्ण अवस्थाका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गरेका छन् । व्यापक आर्थिक मन्दी, बढ्दो प्रतिस्पर्धा र विज्ञापन आउने क्रम घटेकाले संकटको अवस्था आइपरेको उनको भनाइ छ ।

यसअघि अर्को सामाजिक सञ्जाल ट्विटरले पनि कर्मचारी कटौती गरेको थियो । गत साता ट्विटरले आफ्ना ७ हजार ५०० कर्मचारी कटौती गरेको थियो ।

35
Shares
२५ कार्तिक २०७९, शुक्रबार २०:५१