विराटनगर । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतदानका दिन मोरङका मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान प्रतिबन्ध लगाइने भएको छ । मतदातनका दिन मंसिर ४ गते मतदान केन्द्रमा मोबाइल, क्यामेराजस्ता सामग्री लैजान नदिइने भएको हो ।

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार छाप लगाएको मतपत्रको फोटो खिचेर सार्वजनिक गर्नसक्ने र यसले गोप्य मतदानको उल्लंघन हुने भएकाले प्रतिबन्ध लगाउन लागिएको हो ।

यसबारे मतदान अधिकृतले सर्वदलीय र सर्वपक्षीय बैठक राखेर यस विषयमा निर्णय गराउने छन् । निर्वाचनका बेला निषेध गरिएका वस्तु लैजान जबरजस्ती गर्नेलाई कारबाही गरिने दाहालले बताए ।

मोरङमा ३ सय ६ वटा मतदानस्थल र ८ सय ३९ मतदान केन्द्र तोकिएका छन् । जसमा ५० वटा मतदानस्थल अति संवेदनशील, १ सय ४४ वटा संवेदनशील र १ सय १२ वटा सामान्य छन् । २ वटा अस्थायी मतदान केन्द्र पनि तोकिएका छन् ।

यसैबीच मोरङमा शुक्रबारबाट मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी तालिम दिन थालिएको छ । निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालयको आयोजनामा क्षेत्रगत हिसाबले तालिम दिन थालिएको हो ।

तालिमको सहजीकरण प्रजिअ दाहाल, निर्वाचन अधिकृत गोपाल थापा, प्रदेश १ का निर्वाचन अधिकारी लेवन काश्यप अधिकारी, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, कोष तथा लेखा नियन्त्रक एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तनुजा पोखरेल लगायतले गरेका छन् । अधिकारीका अनुसार पहिलो दिन क्षेत्र नम्बर १ का १४३ वटा मतेदान केन्द्रका अधिकृत र सहायक अधिकृत गरेर २ सय ८६ जनालाई पथरीशनिश्चरेमा तालिम दिइएको छ ।

शनिबार क्षेत्र नम्बर ३ का अधिकृत र सहायक अधिकृतलाई तालिम दिने तयारी छ । मोरङमा प्रतिनिधिसभातर्फ ६ वटा निर्वाचन क्षेत्र छन् । तालिममा सुरक्षासँग सम्बन्धित विषयमा प्रजिअ र प्रहरी अधिकारीले सहजीकरण गर्ने गरेका छन् ।

35
Shares
२५ कार्तिक २०७९, शुक्रबार १८:५१