काठमाडौं । नेपालले बंगलादेशमा आयोजना भएको यू–१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो ।
नेपाली महिला फुटबलको उमेर समूहमा यो ऐतिहासिक उपाधि हो । नेपाली महिला टोलीको कुनै पनि उमेर समूहको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो ।
रोमाञ्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो ।
खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १(१ गोलको बराबरीमा ल्याइन् । ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो ।
बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन् । त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो ।
यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल भयो ।
बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटान अंक विहीन रहदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता थियो ।
प्रतियोगिता अन्तर्गत यस अघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो ।
यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १–० को जित निकालेको थियो। बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८–० र दोस्रो भेटमा ९–० को जित निकालेको थियो ।