मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–५ ककुर खोलाको पुलमा मोटरसाइकल दुर्घटना हुुँदा एक जना महिलाको मृत्यु भएको छ । कटारीबाट दुधौलीतर्फ जाँदै गरेको स ८ प २९७५ नम्बरको मोटरसाइकल बालुवामा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कटारी–५ की २३ वर्षीया प्रमिला परियारको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रमिलाका पति ३५ वर्षीय प्रेमबहादुर परियार र छोरा ७ वर्षीय हिमाल परियार घाइते भएका छन् ।घाइतेमध्ये नाबालक हिमालको अवस्था गम्भीर छ । मोटरसाइकल चालकसँग सवारी चालक (अनुमति पत्र) नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै पशुपतिनगर–फिक्कल सडकखण्डअन्तर्गत इलामको सूर्योदय नगरपालिका–३ बौद्धधाममा मोटरसाइकल दुर्घटनामा चाालकको मृत्यु भएको छ । प्रहरीका अनुसार फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको मे ८ प ९२४४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।अनियन्त्रित बनेको मोटरसाइकल सडकमा पार्किङ गरेर राखिएको बा ८६ प १३५५ नम्बरको स्कुटरमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय–३ का २६ वर्षीय सन्देश शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका शेर्पाको उपचारका क्रममा फिक्कल अस्पतालमा दिउँसो १२ः४५ बजेतिर मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।