काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भइ आजीवन कारावासको सजाय भोगिरहेका छ जनालाई मुक्त गर्न भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ ।

अदालतले नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित छ जनालाई रिहा गर्न शुक्रवार आदेश दिएको हो । अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ ।

‘नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् । उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोस्ट ग्रेजुएट डिप्लोमा छ । रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला सङ्कायमा पोस्ट ग्रेजुएट गरेका छन्’ सर्वोच्च अदालतले भनेको छ ।

तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो । संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

गान्धीको हत्यामा संलग्न एक जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए ।

सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनावी र्‍यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन् ।

7
Shares
२५ कार्तिक २०७९, शुक्रबार १७:०९