-गुगल नक्सा ।
विराटनगर । भारतको विहार सरकारले लागू गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एकजना वरिष्ठ नेताले बताएका छन् । अभियानका कारण राज्यका जनतालाई केही लाभ भएको भने उनले उल्लेख गरेका छन् ।जनता दल (युनाइटेड) का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले स्थानीय संवाददाताहरूसँग कुरा गर्दै राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताएका हुन् ।
उनले सरकारको एकल प्रयासबाट अभियान सफल नहुने बताउँदै त्यस निम्ति जनसाधारणको साथ र समर्थन अपरिहार्य भएकामा जोड दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।मदिरा आपूर्ति नरोकिएसम्म त्यसको खपत पनि नरोकिने यथार्थ सुनाउँदै उनले अभियानबाट केही हदसम्म समाज लाभान्वित भएको बताए । उनले अभियानलाई सफल बनाउन राज्यका जनतालाई अग्रमोर्चामा आउन आह्वान गरे ।
नेता कुशवाहको यो भनाइले नीतिशकुमारको सरकारलाई अप्ठ्यारो पारेको छ । मदिरा आपूर्तिकर्ताहरू माथि कठोर बन्न तथा कडाइका साथ कानुन कार्यान्वयन मुख्यमन्त्रीले आदेश दिएपछि नेता कुशवाहको यो भनाइ सार्वजनिक भएको हो ।सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गर्नेलाई १० वर्षसम्म कारावासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन ।
मदिराका कारण राज्यमा आपराधिक घटना बढेका छन् । विहार राज्यका लागि भारतीय जनता पार्टीका निखिल आनन्दले पनि नेता कुशवाहको भनाइप्रति सहमति जनाएका छन् ।