अन्तर्राष्ट्रिय श्रम संंगठन (आइएलओ) नेपालको आर्थिक सहयोग एवं नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंसँगको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कार्यशाला आयोजना गरेको हो ।
शुक्रबार विराटनगरमा आयोजित कार्यशालामा कार्यस्थलमा हुने हिंसा तथा यौनजन्य दुर्व्यवहारविरुद्ध उद्योग प्रतिष्ठानहरुले पालना गर्नुपर्ने आचारसंहिताबारेमा जानकारी गराइएको थियो ।त्यस अवसरमा महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले कार्यस्थलमा हुने हिंसाका घटना रोक्नका लागि त्यस्ता घटनामा हुनसक्ने सहनशीलतालाई शून्यमा लैजानुपर्ने बताए । उद्योगभित्र हुने हिंसा एवं यौनजन्य दुर्व्यवहारको परिणाम कर्मचारी तथा श्रमिकहरुमा हुने श्रम मनस्थिति नै बिग्रिएर जानेतर्फ सचेत रहनुपर्ने सुझाव उनले दिए ।
महासंघका सहायक निर्देशक हरि पौडेलले आइएलओ महासन्धि र लैंगिक हिंसा निवारण ऐन बमोजिम हिंसा तथा दुर्व्यवहार विरुद्धको कानुनी व्यवस्था र सजाय हुने अवस्थाबारे जानकारी गराएका थिए । शारीरिक, गैरमौखिक र मौखिक रुपमा हुनसक्ने हिंसाले काममा पुर्याउने प्रतिकुल वातावरणविरुद्ध सवै क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।कार्यक्रमका सहभागीले आफू कार्यरत उद्योग व्यवसाय, कम्पनी तथा फर्मभित्र हुनसक्ने हिंसाका विरुद्ध कार्ययोजना बनाएर त्यसको पालना गर्नसमेत प्रतिवद्धता जनाएको महासंघ प्रदेश नम्बर १ का कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए । गोष्ठीमा ४५ जना सहभागी थिए ।