कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षाको मुख्य उद्देश्य आयको निरन्तरता र पुनर्वितरणमा आधारित भएको र आधारभूत मानव अधिकारका रुपमा परिभाषित भएको भन्दै यसको कार्यन्वयन गर्नुपर्नेमा जोड दिइएको थियो ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्रको आलेख नम्बर २२ र २३ मा सामाजिक सुरक्षालाई मानव अधिकारका रुपमा उल्लेख गरिएको जनाइएको छ ।महासंघ केन्द्रीय समितिसँगको सहकार्यमा आयोजित कार्यक्रममा महासंघ प्रदेश नम्बर १ ले विभिन्न क्षेत्रका ४० जना रोजगारदाता उद्योग प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए ।
महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल सरकारको सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सहप्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषको अवधारणा र ऐतिहाँसिक पक्षहरु, नेपालमा लागू भएका सामाजिक सुरक्षा कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा लगायतका बिषयमा जानकारी गराएका थिए ।महासंघका सामाजिक सुरक्षा परामर्शदाता युग्मी राजश्री थापाले सामाजिक सुरक्षा कोषको उपयोगिताको अवस्था, कार्यन्वयनमा देखिएका जटिलता र सहजीकरणका प्रयासबारे सहभागीहरुलाई जानकारी गराएकी थिइन् ।
महासंघ केन्द्रीय कार्यालयका सहायक निर्देशक हरि पौडेलले कार्यक्रमको सामाजिक सुरक्षा कोष कार्यन्वयनको विकल्प नरहेको बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेका मोरङ र सुनसरी जिल्लामा रहेका मुख्य रोजगारदाता निकायहरु, औद्योगिक प्रतिष्ठानहरु बीच एकरुपता कायम गर्न अभिमुखीकरण आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा नेपालमा हालसम्म १७ हजार ५०० रोजगारदाताहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएको र ३ लाख ७५ हजारजना कामदार, कर्मचारी र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएको जानकारी दिइएको थियो ।
नेपालमा हाल ३२ दशमलव ९ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारले सामाजिक सुरक्षा कार्यक्रममा जोडिएका पनि जनाइएको छ ।
नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएको थियो । हाल सामाजिक सुरक्षा भत्तासहित ८५ वटा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम सञ्चालित छन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा भने २०७६ साउनदेखि औपचारिक क्षेत्रबाट सुरु भएको थियो । त्यसको कार्यन्वयनको काम सामाजिक सुरक्षा कोषले गर्दै आएको छ ।