काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज शुक्रबार बंगलादेशको सामना गर्दैछ ।
नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
यो खेल फाइनलसरह हो किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ ।
नेपाल बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ । तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन ।
नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।
यस अघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १–० को जित निकालेको थियो ।
बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८–० र दोस्रो भेटमा ९–० को जित निकालेको छ । भुटान अंकविहीन रहदै बाहिरिएको छ ।