संखुवासभा । एकमात्र क्षेत्र रहेको संखुवासभामा प्रतिनिधि सभा सदस्यका लागि पुरानै नेताबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा (एमाले) का राजेन्द्र गौतमबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतिनिधिसभा सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएको संखुवासभामा मुख्य प्रतिस्पर्धीका रुपमा कांग्रेसका खड्का र एमालेका गौतम नै छन् ।
खड्का कांग्रेसका जिल्ला सभापति हुन् । उनी २०७० सालमा सांसद बन्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारमार खानेपानी राज्यमन्त्री बनेका थिए । गौतम नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् ।
गौतम र खड्काबीच यसअघि दुई पटक चुनावी प्रतिस्पर्धा भएको छ । दुवै जनाले पालैपालो एक–एक पटक चुनाव जितेका छन् ।
२०७० सालको चुनावमा खड्का र गौतमबीच प्रतिस्पर्धा भएको थियो । त्यति बेला गौतमलाई हराउँदै खड्का सांसदमा निर्वाचित बनेपछि राज्यमन्त्री बनेका थिए ।
२०७४ सालको चुनावमा पनि खड्का र गौतम दोस्रो पटक चुनावी प्रतिस्पर्धामा हुँदा गौतम विजयी बनेका थिए । यसपालि दुबै नेताबीच तेस्रो प्रतिस्पर्धा हो ।
२०७४ को चुनावमा एमालेका उम्मेदवार गौतमलाई नेकपा माओवादी केन्द्रको साथ थियो । त्यति बेला कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेको थियो ।
स्थानीय तह चुनावको नतिजालाई हेर्दा सङ्खुवासभामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीबीचको गठबन्धनका कारणले १० वटा पालिकामा १२ जना मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष जितेको छ ।
एमालेले आठजना मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिमा एमाले शून्य छ । जिल्लाको ७६ वटा वडामा एमालेले ३८, कांग्रेसले २९ र माओवादी केन्द्रले नौ वडामा वडाध्यक्ष जितेको छ ।
संवासभामा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ । सङ्खुवासभामा पाँच वटा नगरपालिका र पाँचवटा गाउँपालिका छन् ।
जिल्ला निर्वाचन कार्यालयको अनुसार जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ जना मतदाता छन् । यहाँ एक सय आठ वटा मतदानस्थल र एक सय ६२ वटा मतदान केन्द्र छन् ।
संवासभामा प्रदेश सभा ‘क’ मा नेकपा एमालेबाट अधिवक्ता भविश्वर गुरुङ र गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै प्रदेश सभा ‘ख’ मा एमालेका विदुर लिङथेप र गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सरिता थापा खड्काबीच प्रतिस्पर्धा हुने देखिएको छ ।