विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाले तिम्ल्याहा जन्माएकी छन् । सुनसरीको इटहरी–२० तरहराकी ३० वर्षीया रमा चौहानले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।
६ महिनाको गर्भबाट उनले कात्तिक १० गते पहिलोपटक सुत्केरी हुँदा तिम्ल्याहा सन्तान जन्माएकी हुन् ।
आइभीएफ (कृत्रिम गर्भाधारण विधि) बाट जन्मिएका तीनजना छोरीहरुसहित आमाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
जन्मदा एकजनाको तौल ८ सय र दुईजनाको तौल ९ सय ग्राम रहेको नवजात तथा बालरोग विशेषज्ञ डा. दिपराज अधिकारीले बताए ।
अधिकारीकै नेतृत्वमा १६ जनाको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेका थिए । अस्पतालकी वरिष्ठ स्त्री, प्रसुति तथा निःसन्तान विशेषज्ञ डा. प्रेरणा दाहाल नेतृत्वको टोलीले चौहानलाई प्रसुति गराएको थियो ।
आमासहित छोरीहरुलाई ‘कङगारु मदर केयर’ का निम्त्ति अस्पतालको नर्सरीमा राखिने भएको छ । उनीहरुको तौल १३ सयदेखि १५ सय पुगेपछि पारिवारिक पालनपोषणको अवस्था विश्लेषणका आधारमा डिस्चार्ज दिइने भएको छ ।
शिशुहरुको तौल सामान्य अवस्थामा पुग्न करिब १५ दिन लाग्ने अस्पतालले जनाएको छ ।