विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीहरुले शिक्षा, स्वास्थ्य, सरसफाइ, सडक निर्माण, सुशासन, आर्थिक पारदर्शिता, ज्येष्ठ नागरिक, बालबालिका, कला, साहित्य र संस्कृतिको संरक्षण, बजार अनुगमनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

सुनुवाइमा सहभागी उपभोक्ता जागरण अभियानका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले डुबान समस्या, सरसफाइलगायतका विषयमा जिज्ञासा राखेका थिए । उनले तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्न महानगरलाई सुझावसमेत दिएका छन् ।

ज्येष्ठ नागरिक समाज प्रदेश १ का अध्यक्ष मणिकुमार अर्ज्यालले सेवा प्रवाहमा ज्येष्ठ नागरिकमैत्री बनाउन आग्रह गरे । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि महानगरले के गरिरहेको छ भनेर उनले महानगरसमक्ष प्रश्न राखेका थिए ।

सार्वजनिक सुनुवाइ ३

साहित्यकार स्वयम्भुमानसिंह कार्कीले भाषा, साहित्य र संस्कृतिको विकासका लागि महानगरले के कस्ता योजना बनाइरहेको छ भनेर जिज्ञासा राखे ।

एबीसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्तले सडक निर्माण, महिला, बालबालिका र सामाजिक क्षेत्रका जिज्ञासा राखिन् ।

राप्रपाका जिल्ला सचिव टंक चौलागाईं, नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश दाहाल, नेकपा एमाले विराटनगर नगर कमिटीका उपसचिव नवराज नेपाललगायतले सुशासन, आर्थिक पारदर्शिता, विकासमा देखिएको ढिलासुस्तीलगायतका विषयमा प्रश्न राखेका थिए ।

सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको जवाफ दिँदै मेयर नागेश कोइरालाले महानगरवासीले गर्व गर्न र सम्झन लायक काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सार्वजनिक सुनुवाइ २

मेयर कोइरालाले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको दाबी गरे । उनले नगर बस सञ्चालनदेखि डुबान समस्या समाधानसम्मका योजना सुनाएका छन् ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालासहित विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा तथा महाशाखा प्रमुख, नागरिक समाजका अगुवाका साथै सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु