सतिसकुमार राजवंशी
विराटनगर । नेपाल विद्युत प्रधिकरणले आफ्नो स्वामित्वमा रहेका बिजुलीका खम्बाहरुमा रहेका इन्टरनेट, केबल टेलिभिजन र टेलिकमका तार व्यवस्थित नगर्दा पैदलयात्रीलाई समस्या हुने गरेको छ ।
कतिपय स्थानमा तार लत्रिएर हिँड्नै समस्या हुने गरेको छ । दुर्घटना हुने जोखिम पनि उत्तिकै छ । तार व्यवस्थित गर्न यसअघि पैँतालीस दिने सूचना जारी गरिएको थियो । उक्त सूचनाको पालना भने हुन सकेको छैन ।
विराटनगरको महेन्द्र चोकलगायत बजार क्षेत्र र आसपासका अरु स्थानमा पनि तारहरु अव्यवस्थित तरिकाले राखिएको देखिन्छ । कतिपय स्थानमा फरक फरक कम्पनीहरुका तार गुजुल्टिएको स्थानमा फर्सी र घिरौँलाका झ्याङ फैलिएको छ ।
प्राधिकरणले त्यस्ता कम्पनीहरुलाई विद्युतीय लाइनबाट ८० सेन्टिमिटर तलमात्र अप्टिकल फाइबर राख्न भने पनि त्यसो गरिएको छैन । अव्यवस्थित तारका कारण सहरको सुन्दरतालाई असर गरिरहेको छ । पैदलयात्रीलाई हिँड्न पनि समस्यामा पार्ने गरेको छ ।
कतिपय स्थानमा पैदलयात्रीहरु तार पन्साउँदै हिँडेको देखिन्छ । फुटपाथमा तार असरल्ल भएका स्थानहरुमा मुख्य सडकबाटै पैदलयात्रीहरु हिँड्नुपर्ने बाध्यता छ ।
इन्टरनेट कम्पनी म्याक्स टिभीका विराटनगर शाखा प्रबन्धक उमेश दाहाल भने आफ्नो कम्पनीका तार व्यवस्थित रुपमा राखिएको दाबी गर्छन् ।
कम्पनीमा पर्याप्त जनशक्ति भएकाले तारहरु व्यवस्थित गर्ने काम भइरहने उनको भनाइ छ । कतै छुटेको भए निर्वाचनपछि स्थानीय तहसँगको सहकार्यमा व्यवस्थित गरिने उनले बताए ।
प्राधिकरणको विराटनगर वितरण केन्द्रका शाखा अधिकृत रोशन खड्का शाखाले विभिन्न सामाजिक सञ्जाल मार्फत पनि विराटनगरका सर्भिष प्रोभाइडरलाई यस विषयमा सूचित गराएको बताउँछन् ।
सूचनाको अववहेलना गरे केन्द्रको निर्देशनबमेजिम कारबाही हुने उनले बताए । सेवा प्रदायकहरूले आफ्ना राउटरहरू, रिपिटरहरू, एक्स्ट्रक्टरहरू, अप्टिकल फाइबर वितरण बाकसहरू, इत्यादिहरू पोलको एक छेउमा राख्नुपर्ने भनिएको छ ।
कम्पनीहरूले क्लिप ब्यान्डहरू प्रयोग गरेर तारहरू लगाउँदा होसियारी अपनाउनुपर्ने भनिएको छ । कम्पनीहरूले अप्टिकल फाइबर र विद्युतीय लाइनबीचको ४०० भोल्ट लाइन (बेयर तार) (का लागि न्यूनतम ८० सेन्टिमिटर दूरी कायम गर्नुपर्छ ।
३० सेमीका लागि ४०० भोल्ट इन्सुलेटेड तार, ११ केभी–३३ केभी लाइनहरू २ मिटर र ४०० केभी भोल्टको उपकरण ७५ सेमी हुनुपर्छ । कम्पनीहरूले प्रयोग नगरिएका तार र उपकरणहरू हटाउनु पर्ने सूचनामा उल्लेख छ ।
(प्रशिक्षार्थी)