अस्ट्रेलिया । अस्ट्रेलियामा जारी आठौं संस्करणको टी२० काे सेमिफाइनल समीकरण आज पूरा हुँदैछ ।

विश्वकपमा आज इंग्ल्यान्ड र भारत दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुने खेल एडिलेट ओभलमा हुनेछ । दुवै राष्ट्र एकअर्काविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।

हिजाे सम्पन्न पहिलाे सेमिफाइनलमा पाकिस्तान विजयी हुँदै फाइनलमा प्रतिद्वन्द्वीकाे प्रतीक्षा गरिरहेकाे छ । सिड्नी क्रिकेट मैदानमा भएकाे खेलमा न्यूजिल्यान्डलाई सात विकेटले पाखा लगाउँदै पाकिस्तानले फाइनल यात्रा पूरा गरेकाे थियाे ।

आज प्रतिस्पर्धामा उत्रिएका दुवै टाेली टी२० विश्वकपका पूर्व च्याम्पियन राष्ट्र हुन् । भारतले सन् २००७ मा प्रथम संस्करणकाे उपाधि जितेकाे थियाे भने इंग्ल्यान्ड सन् २०१० काे टी२० विश्वकप च्याम्पियन हाे ।

आज इंग्ल्यान्डलाई पराजित गर्दै भारत तेस्रो पटक विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । २००७ मा उपाधि जितेयता भारत २०१४ को विश्वकपमा फाइनलसम्म पुगेकाे थियाे । यता, इंग्ल्यान्ड पनि भारतजस्तै इतिहास बनाउन चाहन्छ । भारतलाई पराजित गरे तेस्राे पटक विश्वकपकाे फाइनल यात्रा तय गर्ने इंग्ल्यान्ड २०१० र २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।

विश्वकपअन्तर्गत सुपर १२ का पछिल्ला खेलमाहरूमा दुवै टाेली सन्तुलित देखिएकाले दाेस्राे सेमिफाइनल राेचक हुने अनुमान गरिएकाे छ ।

यी दुई राष्ट्रबीचकाे आजकाे खेल २३औं भेट हाे । हालसम्म २२ पटक एकअर्काविरुद्ध मैदान उत्रिएका यी दुईमध्ये भारतले १२ खेल आफ्नाे पक्षमा पारेकाे छ भने इंग्ल्यान्ड १० खेलमा विजयी भएकाे छ । पछिल्ला भेटमा भारतसामु निरीह देखिएकाे इंग्ल्यान्ड आफ्नाे लय सुधार्न चाहन्छ । यता भारतकाे लक्ष्य इंग्ल्यान्डविरुद्धकाे आफ्नाे ‘इन फर्म’ प्रदर्शनलाई निरिन्तरता दिन चाहन्छ ।

आजकाे खेलकाे विजेताले आइतबार मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानविरुद्ध टी२० विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु