विराटनगर । २०४६ सालको प्रजातन्त्र पुनःस्थापना जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज बिहीबकार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
गणेशमान जयन्तीका अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ एवम् शुभेच्छुक सङ्घसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेका छन् ।
यस अवसरमा गणेशमान सिंह प्रतिष्ठानले काठमाडौंको चाक्सीबारीमा उनका विषयमा लेखिएका पुस्तक विमोचन गरिने भएको छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरण मानिने सिंह निष्ठाको प्रतीकका रुपमा पनि श्रद्धा गरिने नेता हुन् ।
२०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न उनलाई आग्रह गरेका थिए । तर सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए । १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।
सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा सक्रिय बनेका थिए ।
राणाशासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । २००७ सालअघि नै भद्रगोल जेल फोरेर भागेका गणेशमान प्रवास जानुअघि तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।
जेलबाट भागेर भारत पुगेपछि उनले नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका थिए । २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरेका थिए ।
२०१५ सालमा पहिलो चुनाव भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताएका थिए ।
२०२५ सालमा वीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरेका थिए । २०३३ सालमा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरुद्ध नेता सिंह सक्रिय रहेका थिए ।
तत्कालीन पञ्चायती सरकारले वीपीसँगै उनले मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।
वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरेका थिए ।
१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्त्वपूर्ण योगदान २०४६ सालमा रह्यो ।
जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह त्यो आन्दोलनका सर्वोच्च कमाण्डर भइ सबैको प्रिय बनेका थिए ।
नेता सिंहलाई २०१७ साल पुस १ गतेको ‘कू’ पछि २०२५ सालसम्म वीपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो ।
२०२५ सालमा जेलमुक्त भएपछि वीपीसँगै भारत निर्वासनमा गएका नेताहरूलाई २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनिएको थियो ।