विराटनगर । भोजपुरको हतुवागढी गाउँपालिका–५ मा आगलागी हुँदा जलेर एक जना नाबालकको मृत्यु भएको छ ।

घरमा आगलागी हुँदा शन्तकुमार राईका ५ वर्षीय छोरा आयुषको जलेर मृत्यु भएको भोजपुर प्रहरी प्रमुख डीएसपी शरदकुमार थापाले जानकारी दिए । उनका अनुसार आगोले जलेर गम्भीर घाइते भएका आयुषको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा बाटैमा बिहीबार बिहान ४ः३० बजेतिर मृत्यु भएको हो ।

आगलागीमा परेर शन्तकुमारकी पत्नी ३० वर्षीया आशा राई घाइते भएकी छन् । आशाको धरानमै उपचार भइरहेको छ । डीएसपी थापाका अनुसार बुधबार साँझ ६ः३० बजेतिर एक्कासि आगलागी भएको थियो ।

ग्यास लिक भएर आगो लागेको अनुमान गरिएको थापाले बताए । उनका अनुसार आगोले जलेर घर पूर्ण रूपमा ध्वस्त भएको छ । यद्यपि क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको जानकारी उनले दिए ।

क्षतिको विवरण संकलनका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु