विराटनगर । बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।
मोरङको लक्ष्मीमार्गमा बुधबार भएको फाइनल खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई १-० गोल अन्तरले पछि पार्दै एपीएफ प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलको ४८ औँ मिनेटमा हरि कार्कीले गरेको गोल नै निर्णायक बनेको थियो । राजारानीका गोलरक्षक पुजन होनाले रोक्ने क्रममा रिबाउण्ड भएको बललाई कार्कीले सुन्दर प्रहार गर्दै पोस्टभित्र छिराएका थिए ।
केही अवसर पाए पनि राजारानीका खेलाडीले गोल गर्न भने सकेनन् । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । गोल्डकप विजेता एपीएफले नगद ८ लाख १ हजार पुरस्कारसहित ट्रफी हात पार्यो । उपविजेता राजारानीले ४ लाख १ हजार रूपैयाँमा प्राप्त गर्यो ।
फाइनल खेलको म्यान अफ दी म्याच हरि कार्की घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए । एपीएफका गोलरक्षक राजु नगरकोटी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षकका रुपमा पुरस्कृत भए ।
यसैगरी सर्वोत्कृष्ट मिडफिल्डर, खेलाडी र प्रशिक्षक क्रमस एपीएफकै मनी लामा टोपबहादुर विष्ट र सुदीप श्रेष्ठ घोषित भए ।
राजारानीका पिटर सैगुन सर्वोत्कृष्ट डिफेन्स र बुद्ध चेम्जोङ सर्वोत्कृष्ट स्ट्राइकर बने । आयोजक डाँगीहाट युथ क्लबका काशिम राई उदीयमान खेलाडी तथा सिरहाको सहलेस युवा क्लबका फोडे फोफोना सर्वोत्कृष्ट गोलकर्ता घोषित भए । विदेशी खेलाडी फोडेले प्रतियोगिताभर ३ गोल गरेका थिए ।
सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा गोलरक्षक, डिफेन्स, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र मिडफिल्डरलाई १५-१५ हजार नगद पुरस्कार प्रदान गरियो । उत्कृष्ट प्रशिक्षकले १० हजार नगद पुरस्कार पाए ।
प्रतियोगितामा नेपालका ७ र विदेशी ३ गरेर १० वटा टिमको सहभागिता थियो । डाँगीहाट युथ क्लबको आयोजनामा कात्तिक १५ गते प्रतियोगिता सुरु भएको थियो ।