विराटनगर । प्रदेश १ सरकारका वन तथा वातावरण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ ‘क’ बाट नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि उक्त क्षेत्रमा निर्वाचनको नयाँ प्रक्रिया गरिने भएको छ ।
प्रदेश १ निर्वाचन प्रमुख एवं उपसचिव लेवन काश्यप अधिकारीका अनुसार उम्मेदवारको निधन भएपछि निर्वाचन प्रक्रिया अघि बढाउन नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ ।
कार्यतालिका नयाँ बन्ने भए पनि उक्त क्षेत्रको निर्वाचन मंसिर ४ गते नै हुने छ । निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले निधन भएका उम्मेदवारको दलका हकमा लागू हुने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको अधिकारीले बताए ।कार्यतालिका अनुसार बिहीबारका लागि उम्मेदवारको मनोनयन दर्ता, सूची प्रकाशन र दावीविरोधको समय तोकिएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लले जानकारी दिए ।
उनका अनुसार मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने समय बिहीबार र शुक्रबारलाई तोकिएको छ ।
यसैबीच थापाको निधनको शोकमा बिहीबार प्रदेश १ सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव अर्जुन निरौलाका अनुसार थापाको निधनको शोकमा १ दिनका लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा झुकाउने निर्णय प्रदेश सरकारले गरेको हो ।
डेंगु संक्रमणपछि बिरामी परेका थापालाई निमोनियाँ पनि भएको थियो । उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको थियो ।
थापाको पथरीशनिश्चरेस्थित डाँस खोलामा शवको अन्त्येष्टि बुधबार साँझ गरिँदैछ ।
त्यसअघि उनको पार्थीव शरीरलाई श्रद्धाञ्जली दिन विराटनगरस्थित नेपाली कांग्रेस मोरङको पार्टी कार्यालयमा डेढ घण्टाजति राखिएको थियो । कांग्रेस नेता डा. शेखर कोइराला, पार्टी प्रवक्ता प्रकाशशरण महत लगायतका नेता, कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।
कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले थापाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए । कांग्रेसभित्र सधैँ थापाको अभाव खड्किरहने उनको भनाइ छ । घिमिरेका अनुसार थापा पार्टीभित्र इमान्दार र निष्ठावान नेताका रूपमा परिचित थिए । निधनको शोकमा ३ दिनसम्म पार्टीको झण्डा झुकाउने निर्णय भएको उनको भनाइ छ ।