गगन नुनिया
विराटनगर । चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिका विरुद्ध बुधबार विराटनगरमा मौन जुलुस प्रदर्शन गरिएको छ । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश १ ले मौन जुलुस प्रदर्शन गरेका हुन् ।
संघको प्राङ्गणमा तिनै संघ–संस्थाका प्रतिनिधि, निजी क्षेत्रका अन्य संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, उद्योगी–व्यवसायीलगायत सहभागी भएर जुलुस प्रदर्शन गरिएको थियो ।
जुलुस विराटनगर बजार हुँदै नेपाल राष्ट्र बैंकको प्रदेश नम्बर १ को कार्यालय पुगेर प्रमुख मीना पाण्डेमार्फत नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
जुलुस जिल्ला प्रशासन कार्यालय, मोरङ पुगेर प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाइएको थियो ।
विद्यमान बैंकिङ समस्याहरु निराकरण गर्न सुझावहरु सहित तयार पारिएको ज्ञापनपत्र सम्बन्धित निकायमा हस्तान्तरण गर्ने क्रममा संघका अध्यक्ष नवीन रिजाल, संगठनका अध्यक्ष सुयश प्याकुरेल र परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
(प्रशिक्षार्थी)