विराटनगर । प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनप्रति मुख्यमन्त्री राजेन्द्रकुमार राईले दुःख व्यक्त गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राईले थापाको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
सरल, मिलनसार, मिजासिलो स्वभावका मन्त्री थापा विषयवस्तुको गहिरो अध्ययन गर्ने एक अध्ययनशील व्यक्तिका रुपमा रहेको भन्दै मुख्यमन्त्री राईले एउटै मन्त्रिपरिषद्मा रहँदा, बस्दा गरेका काम र साथको एउटा गहिरो सम्झना छाडेर उनी विदा भएको खबर सुन्नुपर्दा आफू दुःखी भएको जनाएका छन् ।
लोकतन्त्रप्रति सदा प्रतिवद्ध रही मन्त्री थापाले कुनै पनि दबाव वा प्रभावमा नपरी आफ्नो कार्य सम्पादन कुशलतापूर्वक सम्पन्न गरेको राईले स्मरण पनि गरेका छन् ।
मंसिर ४ गते हुने आमनिर्वाचनमा जनताबाट प्रत्यक्ष निर्वाचित भई जनप्रतिनिधि बन्ने चाहनाका साथ थापा नेपाली कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ ‘क’ को प्रदेशसभा सदस्य उम्मेदवार पनि थिए ।
उम्मेदवारी दिएलगत्तै डेंगु, निमोनियालगायत रोगबाट संक्रमित उनको उपचार भइरहेको थियो । दिवंगत नेता थापाप्रति मुख्यमन्त्री राईले श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारमा समवेदना व्यक्त गरेका छन् ।