विराटनगर । उम्मेदवारको निधन भए पनि मोरङ क्षेत्र नम्बर ३ को निर्वाचन नसर्ने भएको छ । अन्यत्र जस्तै मंसिर ४ गते उक्त क्षेत्रमा निर्वाचन हुने भएको छ ।

उक्त क्षेत्रको ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार बिहान निधन भएको थियो । नेपाली कांग्रेसका प्रदेश १ सदस्य थापा प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत थिए ।

उनको निधन भएपछि कांग्रेसका तर्फबाट अर्का उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गर्न लागिएको छ । निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार निर्वाचन तालिका भने केही हेरफेर हुनेछ ।

मतदानको मिति भने पूर्वनिर्धारित नै हुने उनले बताए । कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्न पाउने व्यवस्था छ ।

सम्बन्धित दलका लागि मनोनयन दर्ता, दाबी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि द्रूत्त रुपमा प्रक्रिया अपनाइने छ ।

निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेपछि उक्त दलबाट उम्मेदवार बनेका व्यक्तिले प्रचारप्रसार गर्न पाउने जानकारी काफ्लेले दिए ।

असोज २३ गते मनोनयन दर्ता गराएका थापालाई स्वास्थ्यमा समस्या भएपछि भोलिपल्ट उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो । परीक्षण गराउँदा डेंगुको संक्रमण पुष्टि भएको थियो । उनलाई कडा खालको निमोनियाँ र पायल्सको समस्या पनि थपियो ।

असोज २७ गते काठमाडौंको ह्याम्स अस्पताल लगिएका उनको स्वास्थ्यमा सुधार भएको भन्दै २५ दिनपछि आफन्तले विराटनगर ल्याएका थिए ।

श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार नोबेल अस्पतालमा भर्ना गरिएका थियो । सिकिस्त हुँदै गएपछि मंगलबार राति आईसीयूमा सारिएको थियो ।

उपचारकै क्रममा बुधबार बिहान १०ः४० बजेतिर निधन भएको अस्पतालले जनाएको छ । ५८ वर्षीय थापा मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु