विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान १०ः४० बजेतिर थापाको निधन भएको हो । मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापा काठमाडौंको पेप्सिकोलामा पनि उनको घर छ ।
असोज २३ गते मनोनयन दर्ता गरेयता उनको स्वास्थ्यमा समस्या देखिएपछि नोबेलमा भर्ना गरेर परीक्षण गराउँदा डेंगु संक्रमण पुष्टि भएको थियो । गम्भीर प्रकारको निमोनिया र पायल्ससमेत देखिएपछि उनको अवस्था सिकिस्त भएको थियो । असोज २७ गते हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो ।काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराएर २५ दिनपछि विराटनगर आएका थिए । काठमाडौंमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको भनेर आफन्तले विराटनगर ल्याएका थिए ।
श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार पुनः नोबेलमा भर्ना गरिएको थियो । नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उपचाररत अवस्थामै थापाको निधन भएको हो । अत्यधिक कमजोर भएका कारण निरन्तर अक्सिजन दिएर थापाको उपचार सुरु गरिएको दाहालले बताए ।असोज दोस्रो सातादेखि नै स्वास्थ्यमा समस्या देखिन थाले पनि तेस्रो साताबाट अलि सताएको थापाकी पत्नी लक्ष्मीले बताएकी छन् ।
पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको ८ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ मा समानुपातिक सांसद निर्वाचित भएका थिए । योपटक उनलाई पार्टीले प्रत्यक्षतर्फको टिकट दिएको थियो । थापाका श्रीमती, १ छोरा र १ छोरी छन् ।
थापाको निधन भएपछि त्यो क्षेत्रमा कांग्रेसको उम्मेदवारका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा जानकारी गराएपछि आयोगले अरु गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयनलगायत प्रक्रिया अघि बढाउने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।
उनका अनुसार नयाँ उम्मेदवारीको विषय निधन भएका उम्मेदवारको दलमा मात्रै लागू हुनेछ ।