डोटी । भूकम्पमा परेर डोटीमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्वीचौकी गाउँपालिका–३ मा भूकम्पले घर भत्काउँदा च्यापिएर ६ जनाको मृत्यु भएको हो । १ जनाको उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
मत्यु हुनेमा ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहरा, ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महावीर बोहराकी १७ वर्षीया छोरी धनसरी रहेका छन् ।
६ जनाकै शव उद्धारकर्मीले बाहिर निकालेका छन् । भूकम्पमा परेर ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीया इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा घाइते भएका छन् ।
भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको प्रहरीले जनाएको छ । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घरहरू भत्किएका छन् । उद्धारका लागि भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
स्थानीयका अनुसार भूकम्पले अधिकांश घरहरू भत्किएका छन् । स्थानीय त्रसित बनेका छन् । प्रहरीका अनुसार भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रको ठाउँठाउँमा पहिरो गएको छ ।
त्यसअघि मंगलबार राति ९ः७ बजेतिर दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पटकपटक भूकम्पका धक्का महसुस गरिएको थियो ।
भूकम्पका कारण पुगेको क्षतिको यकिन विवरण आउन बाँकी छ । प्रहरीले भूकम्पमा परेर मृत्यु र घाइते हुनेको संख्या बढ्नसक्ने अनुमान गरेको छ ।