उ जिउँदै छ
लुछिएको मात्र हो
उ रङ्गीन छ
पुछिएको मात्र हो
उ रसिलो छ
निचोरिएको मात्र हो
उ बग्दछ
थुनिएको मात्रै हो
उ स्वतन्त्र छ
केवल बेरिएको मात्र हो
उसको मन कोमल छ
कठाङ्ग्रिएको मात्रै हो
अझै उ खुल्लै छ
घेरिएको मात्रै हो
उ अझै बोल्दछ
नगुञ्जिएको मात्रै हो
हो, उ जिउँदै छ
लुछिएको मात्र हो–
टाट्नामा अड्किएको घँसेटो जस्तै ।
कहिलेकाहीँ विचार पनि
घँसेटो जस्तै हुन्छ
चाहेर पनि उम्कन सक्दैन
लुछिएको हुन्छ, पुछिएको हुन्छ
घेरिएको हुन्छ, बेरिएको हुन्छ
निचोरिएको हुन्छ
थिचिएको र मिचिएको हुन्छ
तर पनि
विचार एउटा शक्ति पनि त हो
जसरी रुप परिवर्तन भएर पनि
शक्ति नासिँदैन
उसरी नै विचार पनि
अनन्तसम्म बाँचिरहेको हुन्छ
कठ्याङ्ग्रिएर पनि
अस्तित्वलाई साँचिरहेको हुन्छ
कठोर पत्थर फोरेर
उम्रिएको पीपल जस्तै ।
समय लाग्छ
लुछिएको घँसेटो विचार पनि
एकपटक अवश्य
हिउँद लागेपछि
खोरियाका बुट्यानसँगै खरानी बन्छ
शीतका थोपासँगै पग्लिएपछि
हेर्दा हेर्दै माटो बन्छ
धर्तीको गर्भमा समागम भएर
शरद र शिशिरको
मौन सम्मिलनसँगै
प्रकृतिको नयाँ सिर्जना बनेर
एकपटक फेरि टुसाउँछ
घँसेटोको नयाँ पुस्ता बनेर
किनकि
विचार पनि घँसेटो जस्तै
शक्तिकै एउटा रुप नै त हो
वसन्तमा जन्मिएको पालुवा हो
अँध्यारो चिरेर उदाएको
आदित्य किरण जस्तै ।