काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या केही घटेको छ । भदौको तुलनामा असोजमा यो संख्या घटेको हो ।

नयाँ, संस्थागत र पुनः गरी गत भदौमा ७६ हजार ४ सय ३ जनाले श्रम स्वीकृति लिएका थिए । असोजमा महिनामा ६२ हजार ७ सय ६ जनाले मात्र लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार यो सङ्ख्या अघिल्लो महिनाको तुलनामा १३ हजार ६ सय ९७ जनाले कम हो ।

असोजमा सबैभन्दा धेरै ३९ हजार ७९० जना दक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् । १८ हजार ५ सय ७७ जना अदक्ष श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

श्रम स्वीकृति लिनेमा ४२ सय १६ जना अर्धदक्ष, १ सय ९ जना व्यावसायिक र १४ जना उच्च सीपयुक्त श्रमिक छन् ।

पछिल्लो समय श्रम स्वीकृति लिनेमा दक्ष श्रमिकको सङ्ख्या बढ्दै गएको छ । भदौमा पनि ७६ हजारले श्रम स्वीकृति लिँदा ४६ हजार ६९ दक्ष श्रमिक थिए ।

असोजमा सबैभन्दा धेरै मलेसिया जाने श्रमिक छन् । मलेसिया जानका लागि नयाँ, व्यक्तिगत, संस्थागत र पुन गरी २७ हजार ६२ जनाले श्रम स्वीकृति लिएका छन् ।

खाडीको देश कतार जान ९ हजार ८४५ जनाले, यूएईका लागि ७ हजार ८४५ जनाले, साउदीका लागि ६ हजार ५३६ जनाले र कुवेतका लागि ३४ सय ९७ जनाले श्रम स्वीकृति लिएका छन् ।

35
Shares
२२ कार्तिक २०७९, मंगलवार २१:२६