विराटनगर । सहलेश युवा क्लबलाई १-० ले स्तब्ध बनाउँदै राजारानी क्लब मोरङको लक्ष्मीमार्गमा जारी पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल पुग्न सफल भएको छ ।

राजारानीलाई फाइनल पुर्याउन परिवर्तित खेलाडी सुनील खड्काको गोल र गोलरक्षक पुजन होनाको प्रदर्शन उत्कृष्ट रह्यो । खेलको एकमात्र गोल दोस्रो हाफको ७२औं मिनेटमा निशान लिम्बूको स्थानमा मैदान प्रवेश गरेका खड्काले गरेका थिए । उमेश कार्कीको प्रहार सहलेसको पोस्टमा लागेर फर्किएपछि आएको रिबन्ड बलमा उनले गरेको प्रयासले जाली चुमेको थियो ।

राजारानी क्लब

खेलको ५३औं मिनेटमा राजारानीले सुरुवाती अग्रता लिने मौका गुमाएको थियो । सहलेशका गोलरक्षक विशाल सुनारले राजरानीका मार्टिनलाई लडाएपछि राजारानीले पेनाल्टीको मौका पाएको थियो । तर पेनाल्टी प्रहार गर्न आएका टेकराज बुढाथोकीको प्रयासलाई सहलेशका गोलरक्षक सुनारले उत्कृष्ट बचाउ गर्दै खेलमा राजारानीलाई अग्रता लिनबाट रोकका थिए ।

सहलेशका गोलरक्षक सुनार पेनाल्टीमा चम्किँदा राजारानीका गोलरक्षक होना खेल अवधिभर छाइरहे । सहलेशका खेलाडीले गरेको आधा दर्जन प्रयासलाई उनले विफल पार्दै राजारानीको अग्रता जोगाइराख्न सफल भए र अन्तिममा जित दिलाए ।

खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका होना गोल्डकपको दोस्रो सेमिफाइनलको उत्कृष्ट खेलाडी साबित भए । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरे ।

गाेलरक्षक हाेना

दोस्रो सेमिफाइनलमा विजयी भएसँगै राजारानीले फाइनलमा विभागिय टोली एपिएफसँगको भेट पक्का गरेको छ । हिजो भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक डाँगीहाट युथ क्लबलाई २-१ गोलान्तरले पाखा लगाउँदै एपिएफले फाइनलमा स्थान पक्का गरिसकेको छ ।

एपिएफविरुद्ध डाँगीहाट

प्रतियोगिताको फाइनल कात्तिक २३ गते हुँदैछ । प्रतियोगिताको विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसबाहेक, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५-१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई ३५ हजार रूपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु