मन्त्रालयले संक्रमणको जोखिम अझै पनि रहेकाले यसबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताए ।उनले देशमा कोभिड संक्रमण दर धेरै नभए पनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे । भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानी पर्नेमा अधिकारीले जोड दिए ।
कोभिड–१९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान मन्त्रालयले आग्रह गरेको छ । ‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ’ अधिकारीले भने, ‘त्यसमा एउटा मानिसमा भएको कुनै पनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ ।’नेपालमा पछिल्लो समय नयाँ भेरियन्ट, ओमिक्रोनको नयाँ प्रजाति पनि पुष्टि भएको छ । त्यसकारण पनि भीडभाड हुने स्थानहरुमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैगरी डेंगुको प्रकोप पनि फैलिरहेको अवस्थामा यसबाट बच्न अपनाउनुपर्ने सावधानी पनि निरन्तर गर्न मन्त्रालयको आग्रह छ ।