सरिता कर्मकार
विराटनगर । सरकारले दिने अनुदान न्यून भएका कारण मुस्लिम विद्यार्थीहरु अध्ययन गर्ने विराटनगर ८ स्थित मदरसा ‘कुरआन माध्यमिक विद्यालय’ समस्यामा परेको छ ।
सरकारको अनुदान पर्याप्त नभएकाले शिक्षक र कर्मचारीलाई समयमा तलब दिन समस्या पर्ने गरेको छ । यसैगरी स्रोतको अभावमा सुविधाजनक पूर्वाधार पनि पर्याप्त हुन सकेको छैन ।
प्रधानध्यापक अबदुल सुहानका अनुसार स्थानीय मुस्लिम मियाँको घरको आँगनमा पढाइ सुरु गरिएको थियो । त्यसबेला आफ्नै भवन थिएन । सुरुमा ४० जना विद्यार्थी थिए ।
२०६८ सालमा मुस्लिम समुदायको सहयोगबाट जग्गा किनेर विराटनगर महानगरपालिकाको ५ लाख रुपैयाँ सहयोगमा एक तले भवन बनाइएको थियो ।
भवनका लागि संसद विकास कोष, नगरपालिका साथै विद्यार्थीका अभिभावकले पनि सहयोग गरेका थिए । सरकारबाट आउने अनुदानले मदरसाको सबै खर्च नधान्ने भएकाले स्थानीय बासिन्दा र अभिभावकहरुले पनि सहयोग गरिरहेका छन् ।
धार्मिक विद्यालयलाई सरकारले सहयोग दिने गरेको छ । कक्षा १ देखि ५ सम्मको लागि २ लाख ४१ हजार, १ देखि ८ सम्मको लागि ५ लाख र १ देखि १० सम्मको लागि १० लाख दिने गरिएको छ ।
मदरसामा १ देखि १० सम्म कक्षा सञ्चालन भए पनि सरकारले भने पाँच लाखमात्र अनुदान दिदै आएको सुहानले बताए ।
थोरै बजेट हुँदा शिक्षक, कर्मचारीलाई समयमा तलब दिन समस्या पर्ने गरेको उनको भनाइ छ ।
शिक्षा ऐन र नियमावलीअनुसार पाठ्यक्रम साथै धार्मिक पढाईका लागि अरबी, उर्दु र दिनियातसहित जम्मा आठ वटा पुस्तक पढाइने गरेको छ ।
उक्त मदरसा २०६५ मा स्थापना भएको हो । १ देखि १० सम्म कक्षासम्म पढाइ हुने स्कूलमा २८२ जना विद्यार्थी छन् । स्थापनाताका ४० जना विद्यार्थीमात्र थिए ।
मोरङ, झापा, सुनसरीलगायत जिल्लाबाट आएका विद्यार्थीहरु छात्राबासमा बसेर पढिरहेका छन् । मदरसामा १२ जना शिक्षकसहित कर्मचारी छन् ।
मदरसामा विद्यार्थीहरुलाई खाना साथै खाजाको पनि व्यवस्था गरिएको छ । विद्यार्थीलाई औपचारिक शिक्षाका साथै धार्मिक ज्ञान, संस्कार पनि सिकाउने गरिएको छ ।
२०६७ मा जिल्ला शिक्षा कार्यालयबाट कक्षा १ सञ्चालन गर्न अनुमति पाएको उक्त मदरसामा मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत छन् ।
(प्रशिक्षार्थी)