विराटनगर । चुनावी अभियानका क्रममा सवारी साधनमा माइक जडान गरी प्रचारप्रसार गर्न नपाइने भएको छ । यो नियम उल्लंघन भए कारबाही हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
यसैगरी जुलुस, आमसभा, र्याली. कोणसभा जस्ता चुनावी अभियानका कार्यक्रम गर्नुपर्दा स्थानीय प्रशासनलाई पूर्वजानकारी दिनुपर्ने जनाइएको छ । निर्वाचन आचारसंहिता सम्बन्धमा राजनीतिक दलहरुसँग छलफलका क्रममा सोमबार यस्तो जानकारी दिइएको हो ।
मोटरसाइकल र्याली, फ्लेक्स प्रिन्टहरुको प्रयोग र अनुमति नलिएका सवारीसाधनमा झण्डाको प्रयोग समेत गर्न नपाइने उक्त कार्यालयले जनाएको छ ।प्रदेश निर्वाचन अधिकारी लेवन काश्यप अधिकारीका अनुसार आचारसंहिता उल्लंघन भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम १ लाख रुपैयाँ जरिवाना वा उम्मेदवारी समेत रद्द गर्न सकिने छ ।
निर्वाचन कार्यालयले हालसम्म आचारसंहिता उल्लंघनका १५ वटा मौखिक उजुरी प्राप्त भएको जनाएको छ । आचारसंहिता पालना गर्न गराउन राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने अधिकारीले बताए ।जुलुस, आमसभा, कोणसभा र र्यालीहरु नजिकको प्रशासनमा जानकारी गराएर गर्न सकिने कार्यालयले जनाएको छ ।
अधिकारीले मतदाता शिक्षाअन्तर्गत हरेक वडामा एकजना महिला स्वास्थ्य स्वयंसेविकाले समुदाय स्तरमा प्रशिक्षण दिइरहेको बताए ।
कतिपय स्थानमा नमुना मतदाता कार्यक्रम पनि गरिएको कार्यालयले जनाएको छ । निर्वाचनमा प्रचार प्रसारका क्रममा ठूला आमसभा गर्न मञ्च निर्माण गर्दाको खर्च विवरण निर्वाचन सकिएको १५ दिनभित्र आयोगमा खर्च पेस गर्नु पर्ने व्यवस्था जनाइएको थियो ।
बिहान ७ बजे देखि बेलुकाको ७ बजे सम्म र्याली आम सभा गर्नुपर्ने पनि उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतगणना विराटनगरमा क्षेत्र ४, ५ र ६ को हुने बताए । अन्य क्षेत्रहरु १ २ र ३ को त्यही क्षेत्रको तोकिएको स्थानमा हुने भएको छ ।
(प्रशिक्षार्थी)