विराटनगर । नेपालमा डेंगु संक्रमित भएर बिरामी हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको छ ।
नयाँ थपिएकासँगै देशभर डेंगुका बिरामीको संख्या ५० हजार २६३ पुगेको मन्त्रालयले जनाएको छ । कात्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो ।
नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय डेगु संक्रमण भएका अधिकांशमा लामो समयसम्म यसको असर देखिने गरेको छ। संक्रमित धेरैमा कमजोरीपना देखिने गरेको छ। अघिल्ला वर्षहरु संक्रमित भए पनि लामो समयसम्म थला नपर्ने गरेको चिकित्सकहरुले बताएका छन्।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विगतका वर्षहरु भन्दा यो वर्ष डेंगु संक्रमण फरक देखिएको छ । अहिले धेरै जनामा लामो समयसम्म कमजोरी महसुस हुने, कपाल झर्ने, श्वास फेर्न गाह्रो हुने, टाउको भारी हुने समस्या देखिने गरेको उनको भनाइ छ ।
विभिन्न देशका रिपोर्टलाई हेर्ने हो भने डेंगु भएका बिरामीमा यस्ता समस्याहरु देखिने गरेको डा. पुन बताउँछन्।
विभिन्न देशका रिपोर्टहरु हेर्दा यस्ता समस्या रिपोर्ट भएको देखिएको छ। नेपालमा सन् २०१९ मा डेंगुले महामारीको रुप लिएको थियो ।
डा. पुनका अनुसार बिरामीले आफूलाई पहिलेकै अवस्थामा फर्काउनका लागि पौष्टिक आहारमा जोड दिनु पर्छ। सागपातदेखि लिएर सिजनल फलफूल, मिनरलहरु प्रशस्त मात्रामा खानुपर्ने उनले बताए ।
यसैगरी आफूलाई सकेसम्म अलि सक्रिय राख्न कोशिस गर्नु पर्नेमा उनी जोड दिन्छन् । ‘मनमा धेरै कुरा खेलाउनु गर्ने हुँदैन, यसले गर्दा मानसिक स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ’ डा. पुनले भने ।
विभिन्न देशमा गरिएका अनुसन्धानका अनुसार डेंगु संक्रमणपछि देखिने समस्याहरु विस्तारै आफैं कम भएर जान्छन्। केही अनुसन्धानमा डेंगुको असर दुई वर्षसम्म पनि देखिने गरेको डा. पुनले बताए।
सन् २००४ मा पहिलो पटक नेपालमा एक विदेशी नागरिकमा डेगीं देखिएको थियो। त्यसयता सन् २०१९ मा डेगीं संक्रमितको संख्या १९ हजार पुगेको थियो। तर अहिले यो संख्या दुई गुणाभन्दा बढी देखिएको छ।