काठमाडाैं । सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ । आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्सेमा सोमबार गिरावट आएकाे हाे ।
सोमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ । तर बजारमा कारोबार रकम भने बढेको छ । दुई सय २४ वटा कम्पनीको ४९ लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १० करोड रुपैयाँ कारोबार भएको छ । आज सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएकाे छ ।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
साताकाे काराेबार हुन पहिलाे दिन आइतबार सेयर बजार उकालाे लागेसँगै लगानीकर्तामा उत्साह थपिएकाे थियाे । तर बजार बढेकाे एकदिन नबित्दै घटेपछि लगानीकर्ता निराश भएका छन् ।