प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुस्ख दिने सप्तरीका सुमितकुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

उनले फेसबुकमा समिरा शर्मा (बेबी) नामको नक्कली आइडी बनाएर उक्त आइडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लील तस्बिर राखि पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लील शब्दहरू स्टाटस लेखी पोष्ट गर्ने गरेका थिए ।

यसका साथै उक्त फेक आइडीको म्यासेन्जरबाट पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुक अकाउन्टको म्यासेन्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लील म्यासेजहरू गरी पीडितको बदनाम, बेइज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार सप्तरीको सुरुङ्गा नगरपालिका वडा १ का १९ वर्षीय सुमितकुमार थापालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय भेडिया सारीको सहयोगमा पक्राउ गरिएको हो ।

ब्यूरोले काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनिमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।
21
Shares
२१ कार्तिक २०७९, सोमबार ११:०२