खानपिनको सिधा सम्बन्ध मानवको स्वास्थ्यसँग जोडिएको हुन्छ । सामान्यतया मानिसहरु खानपिनमा ध्यान दिने गर्दैनन् । अझ घरायसी र बाहिरी काममा उत्तिकै सक्रिय हुने महिलाहरुले स्वस्थकर खानामा ध्यान दिनुपर्ने विज्ञहरुको मत छ ।

साधारणतया धेरै मानिसहरु बिहानै खाली पेटमा कुन खाना खान हुने वा नहुने भन्नेमा अल्मलिएका पाइन्छन् । कतिपय अवस्थामा गलत खानेकुराको सेवनले शरीरलाई स्वस्थ बनाउनु भन्दा खराब बनाउँदै लाने खतरा रहन्छ । यस्तोमा खानाको प्रयोगको समयको ज्ञान हुनु हितकारी हुन्छ ।

विशेषगरी बिहान खाली पेटमा खान हुने र नहुने खान्कीहरुको यहाँ चर्चा गरिएको छ ।

खाली पेटमा खान उपयुक्त हुने

मेथी: राति भिजाएको मेथी बिहान खाली पेटमा पानीसँग सेवन गर्नु स्वस्थकर हुन्छ । पुरुषलाई पनि उत्तिकै फाइदा पुग्ने मेथीले विशेषगरी महिलाहरुको लागि बढी लाभदायक रहेको मानिन्छ । मेथीको प्रयोगबाट पेट र हाडजार्नीको समस्या कम हुने विज्ञको भनाइ छ ।

स्याउ: खाली पेटमा एउटा स्याउ खानु उपयुक्त हुने सुझाव सामान्यतया धेरै स्थानमा दिइने गरेको छ । बिहानको समय एउटा स्याउको सेवनले शरीरलाई आवश्यक उर्जा प्रदान गर्ने अध्ययनहरुबाट पत्ता लागेको छ । स्याउबाट शरीरले भिटामिन सी, एन्टीअक्सीडेण्ट र फ्लेवोनाइड पदार्थ पाउने भएकोले यसको सेवन गर्न चिकित्सकहरुले पनि सुझाव दिने गरेका छन् ।

लसुन: लसुनले प्राकृतिक एन्टीबायोटिकको रुपमा काम गर्छ । लसुनमा रोग प्रतिरोधी क्षमता बढाउने, एन्टीभाइरल र एन्टी–फंगल गुण हुन्छ । यी गुणको कारण मानिसहरु बिरामी हुनबाट बच्न सक्छन् । बिहान एउटा लसुनको केस्रा खानु स्वास्थको लागि फाइदाजनक छ । यसको प्रयोग कहिलेकाहीँ मात्र गर्नुपर्छ, अधिक प्रयोग अन्य रोगको कारण बन्न सक्ने कुरामा सतर्क रहन सुझाइन्छ ।

ज्वानो पानी: ज्वानोले खानाको स्वाद बढाउने मात्र नभएर यसले मानिसको पाचनक्रिया बनाउने बताइन्छ । दैनिक १ गिलास ज्वानो पानीले शरिरको वजन घटाउन सहयोग गर्दछ । विशेषगरी महिलालाई ज्वानोको प्रयोगले मधुमेहको सम्भावना कम गर्ने बताइन्छ । स्वस्थ शरीर र मुटुसम्बन्धी रोगबाट बच्न ज्वानो पानी खानु उपयुक्त हुन्छ ।

खाली पेटमा खान नहुने

चिया र कफीः बिहान उठ्नेबित्तिकै चिया वा कफी पिउने बानी स्वास्थ्यको लागि लाभदायक हुँदैन । चिया तथा कफीमा एसिड धेरै मात्रामा हुने हुँदा पेट दुख्ने, ग्यास भरिने जस्ता अवगुण हुन्छ ।

अझ खाली पेटमा यस्ता चिया तथा कफी सेवनले अल्सर नै हुने सम्भावना रहन्छ । चिया तथा कफीमा हुने क्याफिनको कारण यी सबै खतरा रहेको हो । यसविपरीत बिहान उठ्नेबित्तिकै एक गिलास पानी पिउँदा राम्रो हुन्छ । त्यसपछि चिया तथा कफी सेवन गरेमा तुलनात्मक रुपमा कम असर पर्छ ।

गोलभेंडा: विश्वभर गोलभेंडाको प्रयोग बढी हुने गरेको छ । गोलभेंडा कतिपय गुण भए पनि खाली पेटमा यसको सेवनले पेटलाई नराम्रो असर गर्न सक्छ यसको प्रयोग बढी हुँदै गएमा पित्तथैली तथा किड्नीमा पत्थर जम्ने समस्या शुरु हुन सक्छ । सोही कारण गोलभेंडाको प्रयोग कम गर्न र खाली पेटमा खाँदै नखान सुझाइन्छ ।

सुठुनी: सुठुनीको प्रयोग बिहान गर्नु हुँदैन । बिहानको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पैदा गर्छ । सुठुनीमा पेक्टिन, टेनिनको मिश्रण हुन्छ । यसले ग्याष्ट्रिक एसिड, पेटमा र टाउकोमा दुःख दिन्छ ।

केरा र दही: खाली पेटमा केरा, दहीको प्रयोगले स्वास्थमा नकारात्मक असर पुर्याउन सक्छ । केरामा मेग्नेशियम धेरै मात्रामा हुन्छ । खाली पेटमा दहीको सेवनले पेट दुख्ने समस्या आउन सक्छ । खाली पेटमा यी वस्तुको प्रयोगले शुलको समस्या पनि देखिन सक्छ ।

मानव शरी स्वस्थ रहन खानपानमा विशेष ध्यान दिनु जरुरी छ । संयमित भएर सही खाद्यान्नको सेवनले दीर्घजीवन बाँच्न सकिने भएकोले बेलैमा सचेत हुन चिकित्सकहरु सुझाव दिन्छन् ।

(विज्ञहरुको अध्ययन र सुझावका आधारमा)

98
Shares
२१ कार्तिक २०७९, सोमबार ०७:५१